
विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बीच साउन पहिलो साता भएको तीन बुँदे सहमति अनुसार आज कोशी प्रदेश सरकारमा नेकपा सहभागी हुँदैछ ।
सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्। दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ३ बजे सपथको तयारी गर्न अनौपचारिक जानकारी आएको जानकारी दिएका छन् । ‘औपचारिक पत्र त आइसकेको छैन, तर ३ बजे शपथको तयारी गर्नु भन्ने अनौपचारिक फोनमा कुरा भएको छ’ प्रवक्ता भट्टराईले बताए ।
दुई दलबीच एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय लिने सहमति भइसकेको छ । स्रोतका अनुसार नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन मन्त्रालय र सामाजिक वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउनेछ । यद्यपी पात्र अनुसार दुई दलको सहमतिमा कुनै मन्त्रालय हेरफेर हुनसक्ने बताइएको छ ।
नेकपाबाट मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्क नेम्बाङसहित नेताहरु छलफलमा छन् । सरकारमा यसअघि मन्त्री नभएकालाई प्राथमिकता दिने तयारीमा नेकपा छ । यद्यपी नेतृत्व गर्न भने यसअघि मन्त्री भएकाबाटै लैजानुपर्ने दबाब नेताहरुलाई छ ।
यसअघि मन्त्री भएकामध्ये जीवन आचार्य, दुर्गा चापागाई र बाबुराम गौतम सरकारको नेतृत्व गरेर जान चाहेका छन् । उनीहरुमध्ये एक जनाले सरकारको नेतृत्व गर्दा बाँकी तीन मन्त्रालयमा गोम्बु शेर्पा, खिनु लङ्वा लिम्बू, गीता तिम्सिना, सपना दर्जीको आकांक्षा छ । पदेश लेखा समितिका सभापति राजन किराती पनि सभापति छाडेर मन्त्री बन्ने लबिइङमा छन् । यस्तै पूर्वमन्त्री गणेश उप्रेतीको पनि दावेदारी छ ।
स्रोतका अनुसार नेकपाबाट सरकारको नेतृत्व जीवन आचार्यले गरेर जाने संभावना छ । यद्यपी यसअघि मन्त्री भएका कसैलाई मन्त्री बनाउन नहुने मत हाबी भएमा नयाँले अवसर पाउनेछन् । नेकपाको १७ सदस्यीय संसदीय दलमा गोम्बु शेर्पा, खिनु लङ्वा लिम्बू, विद्या चाम्लिङ, गिता तिम्सिना, राजन किराती, सपना दर्जी र सम्झना तामाङ मन्त्री बनेका छैनन् । ।
यद्यपी लिम्बू अघिल्लो कार्यकाललमा मन्त्री बनेकी थिइन् भने तिम्सिना पूर्वप्रमुख सचेतक हुन् । चाम्लिङ बहालवाला प्रमुख सचेतक रहेकी छन् भने किराती सार्वजनिक लेखा समितिको सभापति ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएर बाहिरिएपछि कांग्रेसले सम्हालेका मन्त्रालयहरू अहिले मुख्यमन्त्री कार्की आफैँले राखेका छन्।


