२०८३ भदौ २१ आइतवार , ०९:१३:१० बजे

Sajhamanch
'

स्थानीय विकासमा पत्रकारिताको भूमिका विषयमा हल्दिबारीमा अन्तरक्रिया

सोमवार, भदौ १, २०८३

हल्दिबारी । स्थानीय सरकारले गरेको समग्र विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्थालाई प्रभावकारी बनाउन पत्रकारिताको भूमिका अझ सशक्त हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

ग्रामीण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त जोड दिइएको हो । कार्यक्रम शनिबार सम्पन्न भएको छ।

​गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले पत्रकार र पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो।

पत्रकार समाजको ऐना भएको धारणा राख्दै उहाँले उठाइएका विषयले सही सूचना प्रवाहका साथै सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्‍याउने बताउनुभयो।

अध्यक्ष लिङ्देनले हल्दिबारी क्षेत्रका पत्रकारहरूले गरेका राम्रा कामको प्रशंसा गर्दै उनीहरूको हित तथा क्षमता विकासका लागि पालिका सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

​कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षासेवी, सामाजिक संघ–संस्था, सहकारी, खानेपानी, धार्मिक तथा पर्यटकीय क्षेत्र, व्यवसायी र अपाङ्गताका क्षेत्रमा क्रियाशील प्रतिनिधिहरूको सहभागिता थियो।

​कार्यक्रमका वक्ताले विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र सामाजिक क्षेत्रजस्ता नागरिकका दैनिक सरोकारका विषयमा स्थानीय पत्रकारिता अझ जिम्मेवार र खोजमूलक हुनुपर्ने धारणा राखेका थिए।

पत्रकारिता सूचना सम्प्रेषणमा मात्र सीमित नभई जनता र सरकारबीचको पुलका रूपमा काम गर्दै स्थानीय सरकारलाई पारदर्शी र जनमुखी बनाउन निरन्तर खबरदारी गर्ने माध्यम बन्नुपर्नेमा उनीहरूको जोड थियो।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाईं, श्रम संस्कृति पार्टी हल्दिबारीका अध्यक्ष सुमन नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक खगेन राजवंशी, एकता साकोसका अध्यक्ष हरिकृष्ण अधिकारी, साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ र साना किसान जलथलका अध्यक्ष खेसकुमारी बनले मन्तव्य व्यक्त गर्नुभएको थियो।

​त्यसैगरी हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पाख्रिन, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष जय पोखरेल, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण दाहाल, कल्याण साकोसका प्रतिनिधि सन्तोष मेचे, जलथल खानेपानीका प्रतिनिधि बलराम गिरी, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी पालिका शाखाका संयोजक रेम खरेल, आदिवासी जनजाति महासंघ हल्दिबारीका अध्यक्ष अर्जुन राई र हल्दिबारी अपाङ्गता सबलीकरण संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वा लगायतले आ–आफ्नो क्षेत्रका अनुभव, विद्यमान समस्या र भावी सुझाव प्रस्तुत गर्नुभएको थियो।

​सहभागीहरूका प्रश्न तथा जिज्ञासाको सम्बोधन गर्दै हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले सकारात्मक कामको प्रचारसँगै कमजोरी औंल्याएर सुधारका लागि खबरदारी गर्ने पत्रकारितालाई स्थानीय सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्थानीय पत्रकारितालाई व्यावसायिक, तथ्यमा आधारित र जिम्मेवार बनाउँदै स्थानीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

​ग्रामीण प्रेस क्लब झापाका अध्यक्ष नेत्रविक्रम बिमलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लबका महासचिव हैकम घिसिङले गर्नुभएको थियो भने अन्तरक्रिया सत्रको सहजीकरण लोकेन्द्र थपलियाले गर्नुभएको थियो।

उक्त कार्यक्रमले स्थानीय विकासका लागि पत्रकार, नागरिक समाज, जनप्रतिनिधि र सरोकारवाला निकायबीचको सहकार्य र संवादलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर