
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो समय अन्तरपार्टी र मुलुकमा गुटबन्दी गर्ने समय नभई पुनर्जागरणको समय भएको बताएका छन् ।
झापाको बिर्तामोडमा आज आयोजित मिसन जनजागरण अभियानको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले देशको परिस्थितिले अबको समय पुनर्जागरण आवाश्यक्ता ठहराएको बताएका हुन् ।
गुटबन्दीले पटक पटक पार्टी फुटाएको बताउँदै उनले भने, ‘गुटबन्दीमा जहिले पनि तिनै मान्छे छन् । पार्टीका पक्षमा होइन अरू कसैको पक्षमा लागेर गुटबन्दीमा लागेका छन् ।’
फागुन २१ को निर्वाचन पछि पहिलो पटक काठमाडौं उपत्यका बाहिरको सार्बजनिक कार्यक्रमलाई सम्बोधन गरिरहेको एमाले अध्यक्ष ओलीले पार्टीको पुनर्गठनको नाममा अध्यक्ष हटाउने अभियान थालेको जनाउँदै यतिखेरको माग पुनर्गठन नभई पुनर्जागरणको भएको प्रष्ट पारेका छन् ।
‘अहिले अध्यक्ष (ओली) फेर्ने भनेर केही मान्छेहरू लागेको देखिएको छ तर कसका लागि फेर्ने किन फेर्ने हो ? मैले त कहिल्यै पनि कार्यकर्ताले फेर्ने कुरा गरेको सुनेको छैन’ ओलीले भने, ‘‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, सङ्घर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो तर ‘आज हामीले पुनर्गठन गर्न समय बरबाद गर्ने होइन, यो पुनः जागरण गर्ने बेला हो ।’
अध्यक्ष ओलीले नेपालको मुलधारको कम्युनिष्ट आन्दोलन तीनपटक पुनःगठन भएको स्मरण गर्दै २०७७ जेठ ३ गते आफ्नै नेतृत्वमा उक्त कार्य भइसकेको जिकिर पनि गरेका छन् ।
अध्यक्ष ओलीले अघिल्लो वर्षको भदौ २३ र २४ गतेको विध्वंशकारी एवम् हुल्लडबाज माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दोहोराउँदै जनताले पनि गल्ति सच्चाउनु पर्नेमा जोड गरेका छन् ।
‘जनताले गरेको गल्ती पनि सच्याउनु पर्नेछ, हामीले पनि सच्चिएर अगाडि बढ्न पर्ने बेला हो यो, त्यसका लागि हामी जनताकोमा जानुपर्ने छ, कुरा बुझाउनु पर्नेछ, त्यसैले यतिखेर पार्टी एकता र एकजुट हुनुपर्ने पहिलो प्राथमिकता हो ।’
अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको तमासामार्फत वैधता दिने काम भएको भन्न छुटाएनन्। उनले एमालेले झै प्रतिनिधिसभाको पुनर्स्थापनामा जोड गरेर गएको भए देशको अवस्था यस्तो नहुने पनि दावी गरेका छन ।
एमालेको प्रतिनिधिसभा पुनर्स्थापनाको अजेन्डा र प्रस्ताव त्यतिबेला दलहरूले स्विकार नगर्दा मुलुक भडखालोमा परेको दावी गर्दै उनले यतिखेर भने सबै राजनीतिक दलका नेतृत्व पछुतो मानेर बसिरहेको पनि दावी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले इलामको फिक्कलमा हिजो आयोजित कार्यक्रममा पार्टीको विधि र प्रक्रिया विपरीत अध्यक्ष हटाउने बहस चलाउनेहरूलाई ‘आवारा’, ‘उरन्ठेउला’ र अनुशासनहीन व्यक्तिको संज्ञा दिँदै पार्टीविरोधी गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै उनले अर्को महाधिवेशनसम्म आफूले अध्यक्ष पद नछाड्ने स्पष्ट पारेका थिए ।
‘अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ । हामीलाई पनि थाहा छ । कति बेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ’ ओलीले भने, ‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ?’
उनले पार्टीभित्र अध्यक्ष हटाउने भन्दै हस्ताक्षर अभियान चलाउने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाए । ‘उरन्ठेउलाहरू भेला भएका छन् । चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्,’ उनले भने, ‘के मजाक हो यो ?’


