
झापा। टिपरको ठक्करबाट झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको छ ।
हिजो शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
शनिबार साँझ ५: २० बजेतिर झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि ना.५ ख ६४९० नम्बरको टिपरले साइकलयात्रा गरिरहेका गणेशलाई टिपरले ठक्कर दिएको थियो ।
साइकलमा यात्रा गरिरहेका उनलाई टिपरले ठक्कर दिएर दुर्घटनापछि टिपर चालक भागेका थिए । झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीले टिपर चलाएको र पछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय वृद्ध गणेशको दुर्घटनामा ज्यान गएको घटनाले आक्रोशित स्थानीयले टिपर तोडफोड गरेको प्रहरीको भनाई छ ।


