२०८३ भदौ २१ आइतवार , ०८:५१:२९ बजे

Sajhamanch
'

युएईमा ३२औँ विश्व आदिवासी दिवस भव्य

सोमवार, साउन २५, २०८३

युएई । प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईको आयोजना तथा महासंघमा आबद्ध मातृसंस्थाहरूको सहभागितामा ३२औँ विश्व आदिवासी दिवस युएईमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली महावाणिज्यदुतावास दुबईका सूचना अधिकारी कुन्जन शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व आदिवासी दिवस विश्वभरका आदिवासी जनजाति समुदायको अधिकार, पहिचान तथा अस्तित्वप्रति ऐक्यबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भयो । उहाँले आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नेफिन युएईका प्रमुख संरक्षक बिक्रम लिम्बूले संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि विश्व आदिवासी दिवस मनाउन थालेपछि आदिवासी जनजातिको हक, अधिकार र पहिचानका मुद्दाले अन्तर्राष्ट्रिय मान्यता र सशक्त आवाज पाएको बताउनु भयो । उहाँले आजको दिन भनेको आफ्नो इतिहासलाई सम्झने र वर्तमानलाई समिक्षा गर्ने दिन भएको बताउँदै हाम्रो अधिकार र पहिचानको लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आदिवासी समुदायको अधिकार सुनिश्चित गर्न सबै पक्षबीच एकता र सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा महासंघमा आबद्ध प्रत्येक जातीय संस्थाको सिफारिसमा समुदायमा उल्लेखनीय योगदान दिएका एक महिला र एक पुरुषलाई मायाको चिह्नोसहित सम्मान गरिएको थियो।

कार्यक्रमको अर्को आकर्षण महासंघमा आवद्ध विभिन्न जातीय संस्थाले प्रदर्शन गरेका मौलिक सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा तथा पहिचान झल्काउने सांस्कृतिक स्टलहरू बनेका थिए । सहभागीहरूले आफ्ना मौलिक कला, संस्कृति, परम्परा र जीवनशैली प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष भागरथी कुमार भगतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार तथा प्रवासी नेपालीहरूको उल्लेखनीय उपस्थिति थियो।

यसैबीच, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युएईको तेस्रो अधिवेशनबाट सूर्यबहादुर खवास अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ। खवासको नेतृत्वमा गठन गरिएको २१ सदस्यीय नयाँ कार्यसमितिको औपचारिक घोषणा ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा गरिएको हो।

यसअघि जुलाई १२ मा दुबईस्थित नाङ्लो रेष्टुरेन्टमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष भागरथी कुमार भगतको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। बिक्रम लिम्बू संयोजक तथा कुमार बलामी र बुद्धि मेवाहाङ राई सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

सन् २०१८ मा स्थापना भएको फोनिज युएई प्रवासमा रहेर आदिवासी जनजाति समुदायको हक, अधिकार, पहिचान, भाषा र संस्कृतिका सवाललाई सञ्चार माध्यममार्फत सशक्त रूपमा उठाउँदै आएको संस्था हो। संस्थाले प्रवासी नेपाली समुदायबीच आदिवासी जनजातिका मुद्दालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै समुदाय र सञ्चार क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खबर