
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुलनजिक पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तुलाई जोगाउन खोज्दा पेट्रोल बोकेको ट्यांकर सडकबाट तल पल्टिएर आगलागी भएको छ। दुर्घटनापछि आगलागी हुँदा ट्यांकर पूर्ण रूपमा जलेको छ।
बाराको अमलेखगञ्जबाट सलाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्यांकर जंगलभित्रबाट बाहिर सडक पार गर्न लागेको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएर आगो लागेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी बसन्त गौतमले जानकारी दिए।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेर चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकल मगाइएको थियो। दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल क्षेत्रमा वन्यजन्तु ओहोरदोहोर गरिरहन्छन्। यही बाटो भएर वन्यजन्तुहरू चुरे क्षेत्रसम्म पुग्छन्।
आगलागीबाट ट्यांकर पूर्ण रूपमा क्षति भएको छ। ‘घटनामा मानवीय क्षति भएन’ डीएसपी गौतमले भने, ‘दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।’
घटनापछि बाराको सिमरा उपमहानगरपालिका–११ घर भएका ट्यांकर चालक समिर गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी गौतमले जानकारी दिए।


