
काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको उक्त बैठकले मुख्य सातवटा निर्णयहरू गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।
निर्णय अनुसार, तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
त्यस्तै, पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय पनि भएको छ ।
यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब (काठमाडौँ)लाई नियुक्ति गर्ने, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता पोखरेलले जनाए ।
यसैगरी, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने, विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठ (भोजपुर)लाई नियुक्ति गरिने भएको छ ।
सरकारले गतहप्ता सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।


