२०८३ भदौ ३ बुधवार , ०४:३६:२५ बजे

Sajhamanch
'

‘प्रहरीबाट मारिएका चार जनाको हत्याको नैतिक जिम्मेवारी गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने’ सांसद बराल

मङ्गलवार, साउन १९, २०८३

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य गुरु बरालले कोशी प्रदेशको सुनसरी र मधेश प्रदेशका सिरहा, धनुषा, पर्सा, सप्तरी लगायतका जिल्लामा भएका घटनामा चार जनाको हत्या भएकोले सोको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले नैतिक रूपबाट लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा धारणा राख्दै सांसद बरालले सरकारलाई दोषी देखाउँदै पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी छानबिनको प्रक्रिया गरौं भनी माग पनि गरेका छन् । उक्त घटनाको न्यायिक छानविनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गर्न माग गर्दै एमालेबाट प्रतिनिधित्व गर्दै सांसद गुरु बरालले ती घटनाको छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशनको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका हुन् ।

सांसद बरालले पार्टीको तर्फबाट उक्त माग राखेका हुन् । ‘चार जना मृतकहरूको हत्याको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले नैतिक रूपबाट लिनुपर्ने आवश्यकता बनेको छ । यस दिशातर्फ गम्भीर हुन र त्यसका लागि पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी छानबिनको प्रक्रिया गरौं’ उनले भनेका छन् ।

यस्ता घटनाको दिगो समाधान खोज्नुपर्ने पनि बरालको भनाइ थियो । हिन्दू र मुस्लिम समुदायबीच भएको घटनाको न्यायिक समिति गठन गरी छानबिन गर्नुपर्ने उनको जोड थियो । सरकारले गठन गरेको छानबिन समितिले नहुने भन्दै बरालले थपे, ‘न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्ने कुरामा यसले तजबिजी ढंगबाट जुन छानबिन समितिको प्रक्रिया अगाडि बढाइएको छ त्यो दुःखद् छ । यसरी त्यो छानबिन हुनसक्दैन ।’

विवादका क्रममा स्थानीयका निजी सम्पत्ति जलाइएको बताउँदै त्यसको उचित क्षतिपूर्ति गर्नुपर्ने पनि बरालले माग गरे ।

त्यस्तै, सांसद बरालले नेपालको सुस्तामा भारतीय सेना प्रवेश गरेको विषयलाई पनि संसदमा उठाएका छन् । उनले भने, ‘देशको भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि घाउ चोट लगाएको छ । सुस्तावासीले प्रतिवादन गर्न बाध्यम भएका छन् ।’

सीमा अतिक्रमणबारे प्रधानमन्त्री संवेदनशील हुनुपर्ने बरालको माग थियो ।

सम्बन्धित खबर