२०८३ भदौ ३ बुधवार , ०५:५३:५२ बजे

Sajhamanch
'

अध्यक्ष ओलीको बोलावट पछि कोशीका मुख्यमन्त्री कार्की काठमाडौं जाँदै

मङ्गलवार, साउन १९, २०८३

विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर एमालेभित्र चर्किएको विवाद निर्णायक मोडमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई काठमाडौं बोलाएपछि सरकारको नेतृत्वबारे आज शीर्ष तहको छलफल हुने बताइएको छ ।

‘पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाने एक एमाले नेताले बताए । मुख्यमन्त्री निकट स्रोतका अनुसार अध्यक्ष ओली, महासचिव पोखरेल र अन्य शीर्ष नेतासँग हुने छलफलमा कोशी प्रदेश सरकारको नेतृत्वबारे निर्णयको प्रयास हुनेछ ।

एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेका छन् । कार्की भने पद नछाड्ने अडानमा छन् । उनले पार्टीको औपचारिक र संस्थागत निर्णयबाहेक व्यक्तिगत वा मौखिक निर्देशनका आधारमा पद नछाड्ने धारणा सार्वजनिक रूपमा दोहोर्‍याउँदै आएका छन् ।

सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा भएको संसदीय दल र प्रदेश नेतृत्वको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले अध्यक्ष ओलीबाट पद छाड्न कुनै प्रत्यक्ष निर्देशन नपाएको बताएका थिए ।

आफू संसदीय दलको नेताको हैसियतले मात्र नभई प्रदेश सभाको बहुमतको समर्थनमा संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेको उल्लेख गर्दै सरकार संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने उनको भनाई थियो ।

कोशी सरकारको नेतृत्व परिवर्तनलाई लिएर एमालेभित्र मतभेद सार्वजनिक रूपमा चर्किएपछि अध्यक्ष ओलीले आफैं छलफल अघि बढाएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर