
इटहरी । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव क्रमशः हट्तै गएको छ । सर्वपक्षीय संवाद, कडा सुरक्षा व्यवस्था तथा शान्ति एवम् सद्भावका पक्षमा भएका अनेकन पहलले तनाव मत्थर हुन थालेको हो ।
सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, स्थानीय समुदाय र सुरक्षा निकायले संयुक्त रूपमा संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव जोगाउने अभियानलाई तीव्र बनाएका छन्।
तनाव बढेपछि सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु तथा पर्सामा निषेधाज्ञा जारी गरिएको थियो। आइतबारबाट सुरु भएको तनाव शनिबारसम्म आइपुग्दा धेरै हदसम्म मत्थर भएको छ। सुनसरीमा कर्फ्यु हटाइएर निषेधाज्ञा मात्र जारी छ भने मधेसका जिल्लाहरूबाट पनि क्रमशः कर्फ्यु हटाइँदैछ।
सरकारले मृतक परिवारसँग सहमति गरेको छ। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा उपस्थिति बढाएका छन् । प्रहरी प्रधान कार्यालयले कोशी र मधेश प्रदेशमा उच्च प्रहरी अधिकृतहरूलाई खटाएको छ।
प्रहरीका अनुसार शान्ति र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिइएको छ। संवेदनशील क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी बढाइएको छ।
घटना भएका तीन दिनसम्म कुनै भूमिका नदेखाएको सरकार चौतर्फी आलोचनापछि पछिल्लो चरणमा सक्रिय भएको छ। प्रधानमन्त्री र गृहमन्त्रीले समस्याको राजनीतिक र सामाजिक समाधानको निमित्त सुरुवाती पहल नगर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नेदेखि राष्ट्रपतिसँग परामर्श गर्ने, तराई मधेसका राजनीतिक दल र सांसदसँग छलफल गर्ने, धार्मिक अगुवासँग सद्भावको लागि सहकार्य गर्ने पहल लिएका थिए। लामिछानेको पहल पछि भने प्रधानमन्त्री बालेन्द्र शाह पनि सक्रिय भएका थिए ।
सुनसरीको तनाव विस्तार भएर मधेससम्म पुगेपछि प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। त्यसपछि शान्ति र सद्भावको लागि राष्ट्रका नाममा सम्बोधन गरे। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक राष्ट्रपति कार्यालय पुगेर उनले राष्ट्रपतिसँग परामर्श गरे। उपराष्ट्रपतिसँग टेलिफोन मार्फत परामर्श गरे भने गृहमन्त्री सुदन गुरुङलाई सुनसरी पठाए । लगत्तै उनले मधेशवादी दलका प्रतिनिधि र मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि परामर्श गरे।
अवस्था अनियन्त्रित बन्दै गएपछि सम्हाल्न सरकार पनि सक्रिय भयो। प्रदेश, जिल्ला र स्थानीय तहमा सम्बन्धित सरकारहरूले सद्भाव कायम गर्नको निमित्त पहलकदमी लिए । राजनीतिक दलहरू पनि सक्रिय भए । गृहमन्त्री गुरुङले सुनसरी र सिरहामा पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गरेपछि परिस्थिति क्रमशः सामान्य बन्दै गएको जनाएका छन्। उनले प्रभावित पक्षसँग सहमति र विश्वासको वातावरण निर्माण गर्न सरकार निरन्तर सक्रिय रहेको बताएका छन्।
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्रीले सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकको सुरक्षा, निष्पक्ष छानबिन र समुदायबीच विश्वासको वातावरण पुनःस्थापना गर्नु रहेको उल्लेख गर्दै जनप्रतिनिधिलाई आफ्ना क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीले जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, समिम मियाँ अन्सारी, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारीलगायत नेतासँग पनि छलफल गरेका छन्। छलफलमा धार्मिक सद्भाव कायम राख्न जिल्लास्तरमा धार्मिक परिषद् गठन, सरकारको सक्रिय भूमिका तथा संवादलाई निरन्तरता दिनुपर्ने सुझाव दिइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग भेट गरी मधेशमा देखिएको परिस्थितिबारे छलफल गरेका छन्। भेटमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम गर्ने उपायबारे विचारविमर्श भएको जनाइएको छ।
विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेशका कांग्रेस जनप्रतिनिधिसँग छलफल गर्दै सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन्। उनले हिंसाको सट्टा संवाद, संयमता र जिम्मेवार भूमिकाबाट मात्र समस्या समाधान हुने बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकलाई सम्बोधन गर्दै समस्याको समाधान गर्न सरकारले संवाद सुरु गर्नुपर्ने आग्रह गरेका थिए। उनले संयमताको निमित्त नागरिकलाई अपिल गर्दै सम्पूर्ण देशवासीलाई शान्ति र सद्भावको लागि आग्रह गरेका थिए।
विराटनगरमा सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ । र्यालीमा सहभागी धार्मिक अगुवाहरूले हिंसा र प्रतिहिंसाले समस्याको समाधान नगर्ने, संवाद, कानुनी प्रक्रिया र आपसी विश्वासबाट मात्रै वर्तमान परिस्थितिलाई सामान्य बनाउन सकिने बताए ।
पूर्वको बिर्तामोड, विराटनगर, सप्तरी र नेपालगन्जमा सद्भाव र्याली आयोजना गरिएका छन् । रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठमार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ । राजनीतिक दल, उद्योगी–व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन् ।
विविध जाति, भाषा, धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार सहअस्तित्व र आपसी विश्वास भएको भन्दै स्थानीय तहदेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अपनाउनुपर्ने आवाज उठ्न थालेको छ । कुनै एक घटनाको असर समुदायबीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिकस्तरका पहल अघि बढिरहेका छन् ।
सुनसरी घटनापछि उत्पन्न तनावका बीच पूर्वी पहाडी जिल्ला पाँचथरबाट शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गरिएको छ । फिदिम–४ स्थित किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र सुम्हालुङ मन्दिर परिसरमा परेवालाई चारो खुवाएर उडाउँदै सहभागीहरूले तनावग्रस्त क्षेत्रमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश पुर्याउने प्रतीकात्मक अभियान सञ्चालन गरेका छन् ।
तनावग्रस्त जिल्लामा प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र स्थानीय समुदायले सद्भाव जोगाउने अभियान सञ्चालन गरेका छन्। विराटनगर, सप्तरी, नेपालगञ्जलगायत स्थानमा सद्भाव र्याली निकालिएको छ भने रौतहटमा सर्वपक्षीय बैठक बसेर सामाजिक एकता कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। लुम्बिनीमा भिक्षु–भिक्षुणीहरूले शान्ति पाठ गर्दै मेलमिलाप र सहिष्णुताको सन्देश दिएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघ, विभिन्न नागरिक समाज तथा स्थानीय संघसंस्थाले पनि हिंसा र द्वन्द्वले सामाजिक जीवनसँगै आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने भएकाले मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
सुरक्षा निकायले अवस्था सामान्य बन्दै गएको जनाए पनि संवेदनशील क्षेत्रमा निगरानी र सुरक्षा सतर्कता भने यथावत् राखिएको छ। सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव कायम राख्न संयमता अपनाउन तथा अफवाहको पछि नलाग्न सर्वसाधारणसँग अपिल गरेका छन्।


