२०८३ भदौ ३ बुधवार , ०४:४५:२१ बजे

Sajhamanch
'

बिर्तामोडमा आगलागी, तीनवटा घर जले

बिहिवार, साउन १४, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको ऐतिहासिक सतानु पैनीमाथि सुकुम्बासीले बनाएका तीनवटा घरमा आज बिहानको राति आगलागी भएको छ ।

प्रहरीका अनुसार आज बिहीबार बिहान ४ः१० बजे पुरानो भद्रपुररोड छेउ सतानु पैनीमाथि गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीले बनाएको काठको ३ वटा टाँडेघरमा आगलागी भएको हो । अन्य तीनवटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा १० जना, श्री अरिदमन गण चारलागीबाट सेनानी किशोरकुमार खड्काको कमाण्डमा २५ जना सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए ।

यसैगरी, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको तीनवटा दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ५ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

आगलागीको कारण विद्युत सर्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त आगलागीबाट अन्दाजी ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार गणेश पोखरेलको घरबाट आगलागी सुरु भएको र नजिकै रहेका अन्य दुईवटा घरमा समेत आगो सल्किएको थियो । मानवीय तथा चौपाया क्षति नभएको भएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

आगलागीबाट भरत पोख्रेलको टिनको छानो भएको एकतले घरमा आंशिक क्षति भएको, शारदा राजवंशीको २ तले पक्की घर आंशिक क्षति भएको र दिपेन्द्रकुमार ओलीको २ तले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयले दिएको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर