
झापा । राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षमा बिशन लिम्बू चयन भएका छन् । निवर्तमान अध्यक्ष फुर्वा लामालाई कोशी प्रदेश कार्यसमितिमा जिम्मेवारी दिइए पछि झापामा युवा संघ नेतृत्व विहीन थियो ।
मंगलबार बिर्तामोडमा भएको संघको पाँचौ बिस्तारित बैठकबाट बिशन लिम्बूको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
निर्माण व्यवसाय र कपडा व्यवसायमा संलग्न लिम्बू सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशील छन् । उनी नगर खेलकुद विकास समिति बिर्तामोडका सचिव र झापा गोल्डकपका कार्यसमिति सदस्य पनि हुन् ।
नवगठित कमिटीको उपाध्यक्षमा उमेश मिश्र, सचिवमा सुलभ भण्डारी, सह सचिबमा संगीता खतिवडा र एसके लिम्बू चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले झापाका सचिव तुलसी कार्की, उपसचिव तथा मोर्चा प्रमुख अनिता कन्दङ्वा, युवा संघका कोशी प्रदेश अध्यक्ष फुर्वा लामा, केन्द्रीय अनुशासन आयोग सदस्य सरोज मेहरालगायत नेतृत्वको उपस्थितिमा विस्तारित बैठक भएको हो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेले नवनिर्वाचित कमिटीलाई सपथ गराएका थिए । त्यस अवसरमा निवर्तमान अध्यक्ष फुर्वा लामालाई विदाई गरिएको थियो ।


