
- शिशिर सिंखडा
टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुने भएको छ । लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा आज शनिबार सो फेस्टिवल हुने लागेको हो ।
नेपाली कला–संस्कृति, गीत–संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको आयोजकले जनाएको छ ।
फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष विश्व अधिकारीले जानकारी दिए । मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झण्डा र नेपाली संस्कृति झल्किने ब्यानर तथा सजावटको ब्यबस्था गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए ।
ब्राम्पटन सिटीको सपर वल्र्ड कम्प्लेक्सको प्राङ्गणमा क्यानडाको समय दिउँसो १ बजेबाट बेलुकी ९ बजेसम्म संचालन हुने महोत्सवमा विभिन्न नेपाली खानाको परिकारका स्टलसहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल पनि रहने लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका महासचिव एवं नेपाल फेस्टिवल–२०२६” मुल समारोह समितिका सदस्य धर्म न्योपानेले जानकारी दिए ।
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी लगायतका विभिन्न जातजातिका भेषभुषासहितको झाँकी र नृत्यहरु र लाखेनाच पनि प्रस्तुत हुनेछन् ।
महोत्सवमा प्रवेश निःशुल्क र पार्किङको पनि निःशुल्क ब्यबस्थापन गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए । करिब १० हजार जनाभन्दा बढीको सहभागिता रहने आयोजक सस्था लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका उपाध्यक्ष एवं नेपाल फेस्टिवल–२०२६” मुल समारोह समितिका सदस्य श्याम अर्यालले अपेक्षा सुनाए ।

गत वर्षहरुमा पनि लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटन सिटीमा पहिलो र दोस्रो नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको थियोे । शनिबार हुने सो फेस्टिवलको उदघाटन क्यानडाका लागि महामहिम नेपाली राजदुत भरतराज पौडेलले गर्नु हुनेछ भने कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय साम्सद सोनिया सिधु, अमन दीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहने छ ।
लोक गायक खेम सेन्चुरी कुसल संगीतकार तथा मोडल समेत हुन । महोत्सवमा उनको विशेष प्रस्तुति रहने छ । लोक गायक तथा संगीतकार खेम सेन्चुरीका धेरै लोकप्रिय गीतहरूमध्ये ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’ र ‘झ्यालमा पर्दा छ’ विशेष रूपमा निकै चर्चित छन् । उनले कार्यक्रममा आफ्ना दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्ने छन ।
महोत्सवमा गायक चेतन सापकोटा, लोक गायिका देवीका केसी, गायक मानसिं खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदी लगायत दर्जन भन्दा बढी कलाकारहरुले नृत्य तथा आ–आफ्नो प्रस्तुति गर्ने आयोजकले जानकारी दिएका छन् ।


