
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा विद्यालयस्तरबाट लागुऔषध दुर्ब्यसन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सचेतना कार्यक्रम तथा सचेतनामूलक ब्यानर वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए । कार्यक्रममा लागुऔषध दुर्ब्यसनको बढ्दो जोखिम, यसको रोकथामका उपाय तथा विद्यालयको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले लागुऔषध विरुद्धको अभियान विद्यालय र घर–परिवार दुवै तहबाट शसक्त रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले लागुऔषध दुर्ब्यसनमा फसेर सुधार केन्द्रबाट फर्किएका युवाप्रति समाजले गर्ने विभेदपूर्ण व्यवहारका कारण उनीहरू पुनः दुर्ब्यसनतर्फ आकर्षित हुने अवस्था देखिएको धारणा राख्दै पुनःस्थापनामा समुदायको सकारात्मक भूमिका आवश्यक रहेको बताउनु भयो।
नगरप्रमुख थोप्राले बालबालिका तथा युवालाई दुर्ब्यसनबाट टाढा राख्न नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिता, सिर्जनात्मक कार्यक्रम तथा पठन संस्कृतिको विकासका लागि ‘ज्ञानघर’ अवधारणा अघि बढाएको जानकारी पनि दिनुभयो। ज्ञानघरको उद्देश्य बालबालिका, युवा तथा ज्येष्ठ नागरिकलाई पुस्तक, पत्रपत्रिका र अध्ययन सामग्रीमार्फत सिर्जनात्मक वातावरण उपलब्ध गराउनु रहेको उल्लेख गर्दै यसको उद्देश्य नबुझी गरिने आलोचनाले समाजमा नकारात्मक सन्देश जाने उहाँको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्षमा लागुऔषध सेवन तथा ओसारपसार सम्बन्धी कसुरमा ६३५ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ। तीमध्ये १० जना शिवसताक्षी नगरपालिकाकामात्र रहेका छन्। झापाका १५ स्थानीय तहमध्ये लागुऔषध सम्बन्धी घटनाको आधारमा शिवसताक्षी आठौँ स्थानमा रहेको प्रहरीको तथ्यांकले देखाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लागुऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्नुभयो। उहाँले झापामा यससम्बन्धी धेरै सचेतनामूलक कार्यक्रम सञ्चालन भए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको जिकिर गर्नुभयो । सोही कारण विद्यालय, अभिभावक, नागरिक समाज, स्थानीय तह र प्रहरीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले विद्यालय बालबालिकाले घरपछि सबैभन्दा धेरै समय बिताउने र सिकाइ गर्ने थलो भएकाले शिक्षकहरूले नियमित पठनपाठनसँगै लागुऔषध दुर्ब्यसनका असर, कानुनी प्रावधान र बच्ने उपायबारे विद्यार्थीलाई निरन्तर सचेत गराउनुपर्नेमा जोड दिनुभयो।
यसै अवसरमा ‘स्थानीय तह र प्रहरी सम्पर्क कार्यक्रम’ सम्बन्धी पुस्तकको विमोचन गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र शिवसताक्षी नगरपालिकाको साझेदारीमा तयार गरिएको उक्त पुस्तकमा लागुऔषध विरुद्धको सचेतना, ट्राफिक नियम, कानुनी व्यवस्था तथा नागरिक सचेतना सम्बन्धी सामग्री समावेश गरिएको छ।
सो पुस्तक नगरका सबै विद्यालयमा वितरण गरिने जनाइएको छ। साथै, विद्यालय परिसरमा राख्नका लागि लागुऔषध विरुद्धका सचेतनामूलक ब्यानरसमेत हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा प्याब्सन शिवसताक्षीका अध्यक्ष रामप्रसाद सुहाङ, मेची अंग्रेजी बोर्डिङ स्कूलका प्रिन्सिपल पदमजंग कुँवरलगायतले लागुऔषध नियन्त्रण, विद्यालयको जिम्मेवारी तथा विद्यार्थीमा बढ्दो जोखिमका विषयमा जिज्ञासा राखेका थिए।
नगर उपप्रमुख नरमाया कार्कीले समेत आफ्नो धारणा व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङ्फेले गर्नुभएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो।


