
- तोयानाथ काफ्ले
बाँसका थुप्रै प्रजाति (मालिङ्गो बाँस, निगाले बाँस, पर्याङ बाँस, माल बाँस, तुम्बे बाँस, तामे बाँस, चिल्ले बाँस, कालो बाँस, फोर बाँस, डल्ले बाँस, चोया बाँस र वेत बाँस) मध्ये माल बाँस अत्यन्त कामयावी बाँस हो । वा भनौं, बाँसहरुको राजा माल बाँस हो । भूगोल, हावापानी आदिका कारणले बाँसको प्रजाति अनुसार कार्यहरु पनि फरक फरक ढङ्गले गरिँदो रहेछ । माल बाँस शब्द छिटो भन्दाभन्दै मालबाँसे हुन गएको देखिन्छ । हालै बेलायती फौजीमा कार्यरत चन्द्र इङ्नामले मालबाँसेको शिरमा हेभेन गेट (स्वर्गद्वार) बनाउनु भएको छ । दृश्यावलोकन गर्न उपयुक्त स्थान बनेको छ ।
निघुरादिन चिसो हावायुक्त ठाउँलाई संकेत गर्न प्रयोग हुन्छ । निन्द्रा हराउनेजस्तो चिसो र हावायुक्त डाँडो वा जाग्राम बसिने थलोजस्तो अर्थबाट विकसित भएको निघुरादिन भन्ने शब्द किरातकालीन समयदेखि प्रचलनमा आएको रहेछ । निघुरादिनको पुरानो साविक ८ नम्बर वडा मालबाँसे हो । हाल आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ पर्दछ ।
उक्त स्थानमा वि. सं. २००४ साल असोज १२ गते जन्मनु भएका हाम्रा सम्धी नरेन्द्रप्रकाश सिटौलाज्यू हाल मेचीनगर नगरपालिका वडा नं. ६, काँकरभिट्टा झापामा बस्नु हुन्छ । झन्डै चारबिसको उमेरतिर लम्किँदै गर्नु भएका उहाँका थुप्रै लेख रचना र पुस्तकहरु पढ्ने मौका मिलिरहेको छ ।
२०२६ सालमै प्रवेशिका परीक्षा उत्तीर्ण गर्नु भएका सिटौला घरबाट पढ्न सकिने संक्रान्ति बजारको त्रिमोहन मावि नपढी किन सिंहवाहिनी मावि म्याङलुङ्ग तेह्रथुम जानु भयो ? सायद उहाँको पहिलो र दोस्रो कृति क्रमशः मेरा कथाका पानाहरु (२०७०), अनुभव र अनुभूति (२०८१) मा उल्लेख होला । तर मैले हालसम्म उक्त कृतिहरु अद्योपान्त नहेरेकाले जिज्ञासा बाँकी नै रहेको हो । जे होस्, उहाँको तेस्रो कृति सन्देश (२०८३ बैशाख) मेरो हातमा आइपुग्यो र पढ्ने मौका मिलेकाले अद्योपान्त पढेँ ।
विकृति र विसंगतीले आक्रन्त समाज अनि घर परिवार बारे लेखिएका सन्देशमुलक सामग्रीहरु समाविष्ट पुस्तक ‘सन्देश’ पढ्न थालियो । पुस्तकको आवरणमै लेखक शंखनाद गर्दै हुनुहुँदो रहेछ । सनातन वैदिक काममा त्यो पनि शुभ अशुभ कार्यमा बज्ने शंख यहाँ एक लक्का जवानले बजाएको दृश्यले एकछिन पाठकलाई सोच्न बाध्य बनाउँछ । पुस्तकमा के त्यस्ता सन्देश रहेछन् !? लेखकले दिन खोजेका ४२ सन्देशहरु जसरी बुझेपनि हुने रहेछ । उमेर, पेसा, व्यवसाय र जिम्मेवारीका आधारमा सबैले आ–आफ्नै ढंगबाट बुझ्न सकिने रहेछ । मैलै चाहिँ यो वार्निङ्ग ‘सन्देश’ हो भन्ने ठहर गरेँ ।

सोझो औंलाले घीउ आएन भने औंलो बङ्गाउनु पर्छ भन्थे बुढापाकाहरु । त्यस्तै लेखकले यहाँ हरेक ध्वनी फरक शैलीमा बजाउनु भएको देखिन्छ । हलेँसी दर्शन गर्न जाँदा उदयपुर र खोटाङ्गका सुख्खापाखामा दूधकोशीको पानी प्रयोग गरेर सुन फलाउन सकिने सम्भावना देँखे भन्नुहुन्छ । मालबाँसे निघुरादिनको शिर नागी र जुरेमा कस्तुरीहरु बिन्दा लिएर बसेको देख्नै पाउनु भएको छैन रहेछ । सत्यनारायणको पूजामा बज्ने शंख, पूजाकोठामा दैनिक बज्ने शंख, मलामी हिंडाउने बेलाको शंख, जोगी आयो भन्ने संकेत शंख, अनि मन्दिरमा बजेको शंखको आवाज छुट्टयाउने हामी भने झैं लेखकका सबै शीर्षकहरु सन्देशमुलक भएको पाएँ ।
आजकल किताब पढ्ने भन्दा मोबाइल सर्च गरेर हेर्ने मानिसहरुको बाहुल्यता छ । तर पनि यस पुस्तकले हामी पाठकहरुमा कुनै न कुनै रचनात्मक सन्देश प्रवाह गर्नेछ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । भाषण गरेर मात्र देशको उन्नति हुँदैन । काम गरेर देखाउनु पर्छ, आश्वासन मात्र दियो भने फोस्रो आश्वासनले जनता वाक्क दिक्क भइसकेका छन् । जनताको धैर्यताको बाँध एकदिन विष्फोट हुन्छ भनेर नेतागणलाई पुस्तकमार्फत उहाँले सचेत गराउनु भएको छ । भाद्र २३—२४ फेरि पनि आउन सक्ने सन्देश उहाँको पुस्तक पढ्दा थाहा हुन्छ ।
कुसंस्कार जरैबाट फालौं सन्देश यथार्थपरक छ । वैज्ञानिक र तर्कपूर्ण हाम्रा संस्कारहरु रहुन्, त्यसको फल सकारात्मक हुनेछ । यसले दूरगामी असर पुर्याउने छैन । त्यसैले सोचेर बुझेर मात्र निर्णय गर्नु उचित हुन्छ भन्ने सन्देश दिइएको छ । आवेशको फलमा रिस उठ्यो भन्दैमा आवेशमा आएर काम गर्नु हुन्न । आफूलाई भएको उकुसमुकुस शान्त पार्न जाँदाको परिणाम सदैव स्वीकार्न पर्ने हुँदोरहेछ । बेलैमा सोचेर मात्र अघि सरौं र भरसक आफ्नो खुट्टामा आफैं उभिने प्रयास गरौं भन्ने सन्देश दिन खोजिएको छ । हस्तक्षेप शीर्षकमा लिखित निवन्धमा छिमेकीले कसरी आफ्नो प्रभुत्व कायम गर्ने भनेर सोचिरहेको र आफूले उसको प्रभुत्व स्वीकार्नु पर्ने हुँदोरहेछ । अर्थात् पुस्तकमा प्रकाशित सबै शीर्षकहरुले केही न केही सन्देश छाडेका छन् भन्ने मेरा बुझाई रह्यो ।
यस पुस्तकमा लेखक नरेन्द्र सिटौलाजीले अग्रज नेताहरुलाई कहीँकतै व्यक्ति इंगित गरेर गाली गलौज गरिएको भेटिएन तर यथार्थ कुराहरु उल्लेख गर्दा कहीँकतै कसैसँग मेल खाएमा ठेस लागेमा संयोग सम्झिनु होला भन्दै बिट मार्नु भएको छ । सिधै भनेर सचेत गराउन पनि सक्नुहुन्थ्यो, हामीले मानेका नेताका करतुतहरु छताछुल्ल नै थिए । तर पनि लेखकले व्यक्तिलाई भन्दा तत्कालीन परिवेश र प्रणाली नै दोषी भएको आभाष दिलाउनु भएको पाइन्छ ।
सरल भाषामा लेखिएको पुस्तकका सामग्रीहरुलाई गोपाल काफ्लेले भाषा सम्पादन गर्नुभएको छ भने लेआउट डिजाइनको काम सन्तोष शर्माले गर्नुभएको देखिन्छ । लेखकले आफ्नो सबै सामग्री टाइप गरिदिने अर्का सहृदयी चन्द्र प्रसाईलाई विशेष धन्यवाद दिनुभएको छ । मेरो तर्फबाट पनि प्राविधिक रुपमा यो पुस्तक तयार पारिदिनु हुने सबैमा धन्यवाद छ । अस्तु ।।
(अर्जुनधारा ६, झापा)


