२०८३ भदौ ३ बुधवार , ०५:४७:३४ बजे

Sajhamanch
'

सहारा नेपालद्वारा शान्तिनगरलाई ‘इको भिलेज’ बनाउने अभियान सुरु

बिहिवार, असार ३२, २०८३

बुद्धशान्ति । दक्षिण इलामको शीतल हावापानी र उत्तरी झापाको उर्वर भूमिलाई जोड्ने बुद्धशान्ति गाउँपालिका–७ स्थित धारागोलालाई हरित, अर्गानिक तथा पर्यटकीय नमूना बस्तीका रूपमा विकास गर्ने उद्देश्यसहित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘इको भिलेज’ अभियान सुरु गरेको छ।

नेपालकै सबैभन्दा ठूलो कारोबार गर्ने सहकारी संस्थाका रूपमा परिचित सहारा नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, अर्गानिक कृषि, जैविक विविधता, ग्रामीण पर्यटन तथा स्थानीय आयआर्जनलाई एकीकृत गर्ने दीर्घकालीन योजनासहित अभियान अघि बढाएको हो।

सहारा नेपालका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले प्राकृतिक स्रोत–साधनको संरक्षण गर्दै स्थानीय समुदायको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले शान्तिनगरलाई इको भिलेजका रूपमा छनोट गरिएको बताए ।

उनका अनुसार सो अभियानले हरियाली प्रवर्द्धनसँगै कृषिलाई पर्यटनसँग जोड्दै स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहारा नेपालका सञ्चालक तथा कृषि एवं वातावरण उपसमितिका फोकल पर्सन शंकर रिजालले शान्तिनगरको भौगोलिक बनोट, मौषमीय विशेषता र प्राकृतिक सौन्दर्यलाई व्यवस्थित रूपमा उपयोग गर्न सके यो क्षेत्र कोशी प्रदेशकै उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।

उनले इको भिलेज अभियानलाई वृक्षारोपणमा मात्र सीमित नराखी वातावरणमैत्री जीवनशैली, अर्गानिक खेती, स्वच्छ बस्ती, जैविक विविधता संरक्षण र समुदायको आर्थिक सशक्तीकरणसँग जोडेर अघि बढाइने जानकारी दिए।

बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि खगेन्द्र गड्तौलाको सभापतित्व तथा रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १४० वटा निमका बिरुवा रोपिएका छन्। ‘एक परिवार, दुई बिरुवा’ अभियानअन्तर्गत ७० परिवारलाई बिरुवा वितरण गरिएको बालीविज्ञ तथा प्राविधिक राजेन्द्र खरेलले जानकारी दिए।

खरेलले निम वातावरणीय सन्तुलन, स्वास्थ्य तथा जैविक विविधताका दृष्टिले अत्यन्त महत्वपूर्ण प्रजाति भएकाले यसको संरक्षण र विस्तार दीर्घकालीन रूपमा समुदायका लागि लाभदायी हुने बताए। उनले शान्तिनगरमा अर्गानिक तरकारी, फलफूल तथा कृषिमा आधारित उद्यम विकाससँगै ग्रामीण पर्यटन प्रवर्द्धन गर्न पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिताविना इको भिलेजको अवधारणा सफल हुन नसक्ने स्पष्ट पारे।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले नेपालकै अग्रणी सहकारी संस्थाले आफ्नो पालिकालाई इको भिलेज अभियानका लागि छनोट गर्नु गौरवको विषय भएको जानकारी गराउँदै स्थानीय सरकारले आवश्यक समन्वय, सहकार्य र नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रबीचको सहकार्यले मात्र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने लक्ष्य राखिएको जानकारी दिए।

संयोजक ओलीका अनुसार सहारा नेपालले यसअघि पनि कोशी प्रदेशका विभिन्न स्थानीय तहमा सुन्तला, जामुन, निम तथा अन्य बहुउपयोगी बिरुवा वितरण, वृक्षारोपण, अर्गानिक खेती प्रवर्द्धन, जल–जमिन संरक्षण तथा वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। इको भिलेज अभियान त्यसैको विस्तारित र दीर्घकालीन रूप हो।

सम्बन्धित खबर