२०८३ भदौ ३ बुधवार , ०४:३९:३० बजे

Sajhamanch
'

साउन महिना, हरियो चुरा र बदलिँदै गएका रहरहरू

शुक्रवार, साउन १, २०८३
  • सञ्जु सिवाकोटी

साउन महिना नेपाली हिन्दू महिलाहरूका लागि विशेष महत्त्व बोकेको महिना हो। वर्षायामको हरियालीसँगै आउने साउन महिनाले प्रकृतिलाई मात्र होइन, मनलाई पनि हराभरा बनाउने विश्वास गरिन्छ। यस महिनालाई प्रेम, आस्था, शुद्धता, समृद्धि र सांस्कृतिक परम्पराको प्रतीकका रूपमा हेरिन्छ। भगवान शिव र माता पार्वतीप्रतिको आस्था, हरियो चुरा, मेहेन्दी, तीजका गीत र महिलाहरूको उत्साहले साउनलाई अझ विशेष बनाइदिन्छ।

आज साउन महिनाको पहिलो दिन। केहीदिन अगाडिबाटै हाटबजार, गाउँ र सहर हरियो चुराले सजिएका छन्। कसैको हातमा मेहेन्दीको रङ छ, कसैले हरियो चुराले हातहरू सजाएका छन् । पसलहरूमा महिलाहरूको चहलपहल बढेको छ। केही दिनका लागि भए पनि व्यवसायीहरुलाई केही राहत महसुस भएकोछ । साउनले संस्कृतिलाई मात्र होइन, स्थानीय बजारलाई पनि चलायमान बनाउँछ।

हिजो भान्सामा काम गर्दैगर्दा मात्रै दिदीले भन्नुभयो, “बहिनी, भोलि मेहेन्दी लगाउने है ? मेरी छोरीले तपाईंलाई पनि लगाइदिन्छे।” मैले हाँस्दै भनेँ, “मेहेन्दी किन ? कसको बिहे आइलाग्यो र ?” दिदी मुस्कुराउँदै भन्नुभयो, “अरे यो बहिनी त ! भोलि त साउन सुरु हुँदैछ नि !”

त्यतिबेला पो झसङ्ग भएँ। साँच्चै, भोलि त साउनको पहिलो दिन रहेछ। तर मैले सहजै भनेँ, “म त अहिले खासै लगाउँदिन दिदी, मन लाग्दैन। बरु तपाईं लगाउनुहोस्, म चुरा किनिदिन्छु।”

दिदीको अनुहारमा देखिएको खुसीले मलाई एउटा कुरा फेरि सम्झाइदियो। पहिले आफूले चुरा किनेर लगाउँदा जति आनन्द लाग्थ्यो, आज अरूलाई किनिदिँदा त्योभन्दा धेरै सन्तुष्टि मिल्दो रहेछ।

एउटा समय थियो, साउन आउनुभन्दा केही दिनअघि नै हरियो चुरा र मेहेन्दी किन्ने योजना बन्थ्यो। मनमा एउटा छुट्टै उत्साह हुन्थ्यो। लाग्थ्यो, हातभरि हरियो चुरा र मेहेन्दी नभए साउन नै अधुरो हुन्छ। चुरा टिनटिन बजाउँदै हिँडिन्थ्यो, हातभरि मेहेन्दी लगाएर आफ्नै हात पटक–पटक हेरेर रमाइन्थ्यो। ती साना रहरहरूमा नै संसारको सबैभन्दा ठूलो खुसी भेटिन्थ्यो।

तर समयसँगै उमेर मात्र बढ्दैन रहेछ, सोच, प्राथमिकता र खुसीको अर्थ पनि बदलिँदो रहेछ। आज त्यही चुरा र मेहेन्दी उस्तै छन्, साउन पनि उस्तै छ, तर मन भने लगाउनुभन्दा नलगाउँदामा खुसी छ । पहिले बाहिरी सौन्दर्यले आकर्षित गर्थ्यो, अहिले मनको शान्ति सबैभन्दा ठूलो सौन्दर्य लाग्दोरहेछ। पहिले आफूलाई सजाउने रहर थियो, अहिले आफ्ना मानिसहरू खुसी भएको देख्नु नै सबैभन्दा ठूलो खुसी लाग्दोरहेछ।

साउन हरेक वर्ष आउँछ। हरियो चुरा फेरि बजारमा सजिन्छ ।मेहेन्दीको सुगन्ध फेरि फैलिन्छ। नयाँ पुस्ताले ती रहरहरूलाई आफ्नै तरिकाले बाँचिरहेको हुन्छ। तर उमेरसँगै हाम्रो खुसीको परिभाषा बदलिँदै जान्छ। एक समय आफ्नै हातभरि चुरा सजाउनु ठूलो खुसी थियो भने आज आफ्ना मानिसहरूको अनुहारमा मुस्कान देख्नु नै ठूलो उत्सव बनेको छ। सायद जीवनको सुन्दरता पनि यही नै होला ।

समयले हाम्रो संस्कृति बदल्दैन, तर त्यसलाई हेर्ने दृष्टिकोणलाई बदल्दिन सक्छ। त्यसैले साउन केवल हरियो चुरा र मेहेन्दीको महिना होइन, जीवनमा बदलिँदै गएका रहरहरूलाई सम्झिने र नयाँ महिना पनि हो। र, मेरो व्यक्तिगत जीवनको लागि पनि साउन महिना र यसको पहिलो प्रहर विशेष दिन बनेर आउने गर्छ ।

सम्बन्धित खबर