
धनकुटा । धनकुटाको प्रमुख दाहसंस्कार स्थल मुलघाटमा सोमबार आएको आकस्मिक बाढीले नदी किनारमा जल्दै गरेको चिता बगाएपछि केही समय दाहसंस्कार कार्य नै प्रभावित भएको छ ।
वर्षायामसँगै तमोर नदीमा पानीको बहाव एक्कासी बढ्दा जल्दै गरेको चिता बगाएको हो । धनकुटा नगरपालिका वडा नं. ६ आत्माराका गौरी रोक्काको दाहसंस्कार भइरहेका बेला तमोर नदीमा पानीको सतह अचानक बढ्न थालेको थियो । केहीबेरमै बाढी बढेपछि नदी किनारमा जल्दै गरेको चिता बगाएर नदीको बीच भागतर्फ लगेको थियो ।
घटनाका प्रत्यक्षदर्शी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार त्यस समयमा मुलघाटमा चारवटा शवको दाहसंस्कार भइरहेको थियो । तीमध्ये एउटा चिता बाढीले बगाएको हो ।
उनका अनुसार शव ७५ प्रतिशत जलेपछि चिता बगेर नदीको बीच भागमा तैरिंदै तलतिर गएको थियो । ‘नदीको बहाव सामान्य देखिएकै अवस्थामा चिता जलाइएको थियो’, पोख्रेलले भने, ‘तर, केही समयमै माथिबाट ठूलो मात्रामा पानी आएपछि नदीको सतह ह्वात्तै बढ्यो । हेर्दाहेर्दै जल्दै गरेको चिता बगेर नदीको बीच भागमा पुग्यो ।’
शिक्षक पोखरेलका अनुसार अर्को एउटा चितालाई पनि बाढीको बहावले पल्टाएको थियो । त्यसपछि दाहसंस्कारमा सहभागीहरुले तत्काल शवलाई सुरक्षित स्थानमा सारेर नदीभन्दा माथिल्लो भागमा नयाँ चिता निर्माण गरी दाहसंस्कार गरेका थिए ।
धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट तमोर नदी किनारमा रहेको धनकुटा जिल्लाको मुख्य दाहसंस्कार स्थल हो । विश्रान्ति मन्दिर छेउमा रहेको दाहसंसकार स्थल भएकाले धेरै मानिसहरु दाहसंस्कार गर्न आउने गरेका छन् । तर, वर्षायाममा नदीको बहाव बढ्ने क्रमसँगै त्यहाँ दाहसंस्कार गर्न कठिनाइ हुने गरेको छ ।


