
काठमाडौं । मुलुकमा करिब दुईतिहाइ बहुमतको स्थिर सरकार हुँदा पनि सेयर बजार भने घट्दो क्रममा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतमा बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७९.९८ अंकले घटेको छ ।
१३ चैतमा बालेन्द्र नेतृत्वमा सरकार बनेको थियो । त्यसअघि १२ चैतमा नेप्से २९५०.१६ विन्दुमा थियो । अहिले २९ असारसम्म आइपुग्दा नेप्से घटेर २५७०.१८ विन्दुमा सीमित भएको छ ।
२१ फागुनको चुनावमा रास्वपाको बहुमत आएलगत्तै २५ फागुनमा सेयर बजारमा सकारात्मक सर्किट लागेको थियो । फागुन २५ मा नेप्से ६ प्रतिशतन अर्थात् १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको थियो । तर, सरकार गठनपछि भने सेयर बजार घट्दो क्रममा छ ।
२३ चैतमा सरकार गठन भएलगत्तै १५ चैतमा नेप्से ७१.०५ र १६ चैतमा ४७.७१ अंकले घट्यो । त्यसपछि १७ चैतमा १९.७० अंकले बढेको सेयर बजार १८ चैतमा ७४.७३ अंकले घट्यो । त्यसपछि १९ चैतमा ५.८२ अंकले बढेको सेयर बजार चैत २२ गते १०५.५० अंकले घटेर २६७६.३६ विन्दुमा सीमित भयो ।
सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा सीमित भएको छ । यो आठ महिनायताकै कम पनि हो । यसअघि ४ मंसिरमा नेप्से २५६०.२९ विन्दुमा थियो । त्यसपछि नेप्से बढेर चैत १० गते २९६०.४ विन्दुसम्म पुगेको थियो । त्यसपछि घटेको छ । पछिल्लो एक वर्षमा गत वर्ष १३ साउनमा नेप्से ३००२.०७ विन्दुमा पुगेको थियो । असोज ३० गते भने नेप्से २४८७.१७ विन्दुमा झरेको थियो ।
सोमबार सात अर्ब ४६ करोड ८४ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । चार करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर कारोबार भएको देखिन्छ । कारोबार संख्या भने ५१ हजार २९५ देखिएको छ । असार मसान्तमा कर तथा ऋण तिरेका कारण सोमबार सेयर बिक्रीको चाप भएको जानकारवाला बताउँछन् ।
लगानीकर्ता छोटेलाल रौनियारले सरकार गठनपछि पनि लगानीकर्तामा उत्साह नभएको बताए । ‘रास्वपा सरकारसँग अपेक्षा धेरै थियो । चुनावपछि सेयर बजार बढेको पनि हो । तर, सरकार गठन भयो । त्यसपछि एमाले अध्यक्ष केपी ओली पक्राउ गर्ने र उद्योगी तथा व्यवसायीमाथि पनि धरपकड सुरु भयो । त्यसले राजनीतिक अन्योलता भएर लगानीकर्तामा कन्फिडेन्स आउन सकेन ।’
रौनियारले थपे, ‘बजेटबाट पुँजीगत लाभकर अन्तिम हुने भनियो । तर, त्यसको दर २.५ प्रतिशत विन्दुले बढाइयो । तर, हामीलाई त्यो घट्छ भन्ने आशा थियो । बढेपछि पनि लगानीकर्तामा उत्साह आउन सकेन ।’ नयाँ सरकार गठनपछि पनि आर्थिक गतिविधि अपेक्षाकृत रूपमा बढ्न नसकेको उनले बताए ।
यस्तै, नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले पनि लगानीकर्तामा कन्फिडेन्स आउन नसकेको बताए । ‘अहिले ब्याजदर कम छ । सूचीकृत कम्पनीको व्यवसाय पनि राम्रो छ । तर, बजार बढ्न सकेको छैन,’ उनले भने, ‘मुख्यतः सरकारले सम्पत्ति छानबिन सम्बन्धी गरेको कामका कारण लगानीकर्तामा उत्साह छैन । बजारमा केही बिग प्लेयर छन् । उनीहरूले लगानी बढाउन सकेका छैनन् । साथै, लगानीकर्तामा स्पष्टता आउन सकेको छैन ।ु
यद्यपि, सरकारको कदम ठिक भएको उनले बताए । ‘प्लेयरले बजार बढाउने काम राम्रो होइन । पछिल्लो समय भएका काम स्वाभाविक रूपमा लगाीकर्ताको सुरक्षाका लागि राम्रो छ,’ उनले भने, ‘भविष्यमा यसले राम्रै फाइदा हुन्छ ।’ यद्यपि, केही नीतिगत तथा कानुनी सुधार भने गर्न आवश्यक रहेको उनले बताए ।


