
इटहरी । गएराति यहाँ भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोमबार राति करिब ११ बजे कोशी लोकमार्ग अन्तर्गत इटहरी–२० स्थित सेउती पूल नजिकै स्कोरपिओ गाडी दुर्घटना भएको हो ।
इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । एकजना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि मर्मतका लागि गएको बा १ ञ १६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको हो ।
प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलले मर्मत टोली डिउटीकै क्रममा दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार राति साढे ९ः५४ बजेतिर दुहबी–धरान प्रसारण लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो । सोही गाडी दुर्घटनामा परेको हो ।

आफैं अनियन्त्रित भई गाडी दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका व्यक्ति सोही भ्यानमा सवार धरान उपमहानगरपालिकाका–२० बस्ने ३२ वर्षीय पवन राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।
कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ ।


