
यूएई । यूएईमा क्रियाशील कोच राजवंशी प्रवासी समाज यूएई, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएई को १२औं सक्रिय सदस्य संस्थाका रूपमा औपचारिक रूपमा आबद्ध भएको छ।
१२ जुलाई २०२६ मा सम्पन्न महासंघको पाँचौँ बैठकले आवश्यक प्रक्रिया पूरा गर्दै कोच राजवंशी प्रवासी समाज यूएईलाई राजवंशी समुदायको प्रतिनिधि संस्थाका रूपमा सक्रिय सदस्यता प्रदान गर्ने निर्णय गरेको हो।
महासंघका अनुसार संस्थाले चौथो बैठकमै सदस्यताका लागि औपचारिक निवेदन दर्ता गरेको थियो। त्यसपछि यूएईमा राजवंशी समुदायको प्रतिनिधित्व गर्ने अन्य कुनै संस्था भए २१ कार्यदिनभित्र दाबी वा विरोध पेश गर्न सार्वजनिक सूचना जारी गरिएको थियो। निर्धारित अवधिभित्र कुनै पनि दाबी वा विरोध नआएपछि आवश्यक प्रक्रिया पूरा गरी सदस्यता प्रदान गरिएको महासंघले जनाएको छ।
नेपाल सरकारले सूचीकृत गरेका आदिवासी जनजातिमध्ये राजवंशी जाति लोपोन्मुख समुदायमा पर्छ। समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा तथा जातीय पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वि. सं. २०५० सालमा राजवंशी समाज विकास समिति स्थापना भएको थियो। नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका राजवंशी समुदायले आफ्नो मौलिक पहिचान जोगाउन सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएका छन्।
यही उद्देश्यलाई आत्मसात् गर्दै तीन वर्षअघि यूएईमा स्थापना भएको कोच राजवंशी प्रवासी समाज यूएईले समुदायको एकता, भाषा, संस्कृति र पहिचान संरक्षणसँगै विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
महासंघले राजवंशी समुदायको सहभागिताले संस्थाको समावेशी स्वरूप थप सुदृढ भएको जनाएको छ। साथै महासंघमा आबद्ध विभिन्न आदिवासी जनजाति संस्थाका प्रतिनिधिहरूले कोच राजवंशी प्रवासी समाज यूएईको सदस्यतालाई स्वागत गर्दै यसले आदिवासी जनजातिबीचको एकता, सहकार्य र साझा आवाजलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
महासंघमा आबद्ध भएसँगै अब कोच राजवंशी प्रवासी समाज यूएईले यूएईस्थित आदिवासी जनजाति समुदायहरूको साझा मञ्चमार्फत राजवंशी समुदायको भाषा, संस्कृति, पहिचान, अधिकार तथा साझा सरोकारका विषयलाई थप प्रभावकारी रूपमा उठाउने छ।


