२०८३ भदौ ३ बुधवार , ०४:५१:२२ बजे

Sajhamanch
'

नेपनि संघ झापा सभपतिमा गहकिला उम्मेदवार भट्टराई

आइतवार, असार २८, २०८३

झापा । नेपाल परिवार नियोजन संघ झापाको २०८३–८६ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही असार ३१ गते निर्वाचन हुने भएको छ ।

एकजना सभापति र एकजना कोषाध्यक्ष पदमा निर्वाचन हुने संघका सदस्य सचिव कमलप्रसाद सुवेदीले असार १० गते प्रकाशन गरेको निर्वाचन कार्यक्रममा उल्लेख छ ।

तर उम्मेदवारी दर्ताका क्रममा कोषाध्यक्ष पदमा झुमा शिवाकोटी दाहालको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित भइसक्नु भएकोले ३१ गते सभापतिको मात्र निर्वाचन हुने भएको हो ।

निर्वाचनमा सभापति पदमा वर्तमान सचिव अधिवक्ता राजेन्द्र भट्टराई र पूर्व सचिव तोयानाथ गड्तौलाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सभापतिका उम्मेदवार भट्टराई बिर्तामोड ५ का बासिन्दा हुन् भने गड्तौला भद्रपुर वडा नम्बर ८ का बासिन्दा हुन् । दुवैजना लामो समयदेखि परिवार नियोजन संघमा सक्रिय रहेकाले उहाँहरुको उम्मेदवारीले झापामा यस निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।

यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा नेपाल परिवार नियोजन संघले लामो इतिहास बोकेको छ । यस्तो सामाजिक संस्थामा सक्षम र गतिशील नेतृत्व चयन गर्न मतदाताहरू उत्साहित देखिएका छन् । जिल्लाभरका आजीवन र साधारण सदस्य गरी ७८९ जना मतदाताहरूले मतदान गरी सभापति चयन गर्ने भएका हुन् ।

यही सन्दर्भमा आज सभापतिका एकजना उम्मेदवार राजेन्द्र भट्टराईले साझामञ्चसँगको भेटमा भन्नुभयो, ‘सुखी र स्वस्थ परिवार निर्माण र व्यवस्थापन आफ्‌नो मूल उद्देश्य रहेकाले, हरेक पालिकाका वडा तहसम्म परिवार नियोजन संघको सेवा पुर्याउनु तथा महिला स्वास्थ्य गतिविधि बढाउनु र संघको प्रस्तावित नयाँ भवन डिपीआर अनुसारको बनाइसक्ने लगायत विभिन्न योजनाका साथ मैले सभापति पदमा उम्मेदवारी दिएको हुँ ।’

सन् २०१५ देखि संघको सदस्यता ग्रहण गर्नुभएका भट्टराईले एक कार्यकाल विज्ञ सदस्य (कानून) र चालू कार्यकालमा सचिवको जिम्मेवारी पूरा गर्नुभएको छ । उहाँ नेपाल सरकारको प्रशासकीय अधिकृत कर्मचारीबाट सेवा निवृत्त भएकाले लामो प्रशासनिक अनुभव प्राप्त एवम् निरन्तर सामाजिक सेवामा क्रियाशील रहनु भएको पाइएको छ ।

आफू जिम्मेवारीमा रहेको अवस्थामा विभिन्न क्रियाकलापमा नेतृत्वदायी भूमिका निर्वाह गरी कार्यक्रमलाई सफल बनाएको उहाँको दावी छ । आफ्‌नो नेतृत्वमा मेचीनगर नगरपालिकाका वडा नं. २, १२, १३ र १४ का विभिन्न स्थानमा ६ दिनसम्म संघको उद्देश्य अनुसारको स्वास्थ्य शिविर सञ्चालन गरी ७९३ जनाको उपचार गरिएको कार्यबाट उहाँ सन्तुष्ट रहेको बताउनु हुन्छ ।

यसैगरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सफल बनाउन भद्रपुर नगरपालिकासँगको समन्वयमा सञ्चालित निःशुल्क महिला स्वास्थ्य शिविर, साईराम समूहसँग भद्रपुरमा सम्पन्न स्वास्थ्य शिविर र देवी माद्यमिक विद्यालयका ४२ जना छात्राहरुलाई यौनिक शिक्षा तालिम प्रदान गरी साथी शिक्षक उत्पादन गर्न सफल भएको विषयलाई उहाँले महत्वपूर्ण कार्य गरेको बताउनु भएको छ ।

आफ्‌नो सचिवीय कार्यकालमा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र संघको आन्तरिक स्रोतबाट भद्रपुर क्लिनिक भवनको तला थप गर्न सफल भएको स्मरण गर्दै अब सभापति बनेर भुकम्पले क्षत विक्षत बनाएको भवनलाई भारतीय दूतावाससँगको समन्वयमा डिपीआर अनुसारको संरचना बनाएरै छाड्ने प्रतिवद्धता सुनाउनु भएको छ ।

सम्बन्धित खबर