
कमल । झापाको कमल गाउँपालिकामा डेंगु, चिकुनगुनिया लगायत लामखुट्टेजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सुरू भएको छ ।
कमल गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सञ्चालन गरिएको लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान शनिबार कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गी (मङ्गलबारे)बाट सुरु गरिएको हो ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सुरुवात गरिएको अभियानमा राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, महिलास्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
अभियानका क्रममा घर आँगन तथा सार्वजनिक स्थानमा पानी जम्ने भाँडा, टायर, गमला, ड्रम, बोतल, कुलर लगायतका स्थानको निरीक्षण गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गरिएको थियो। साथै डेंगु तथा अन्य लामखुट्टेजन्य रोगबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो।

अभियानमा सहारा नेपालको प्राविधिक सहयोग रहेको थियो भने सगुन युथ क्लब, कमल ५, शान्त जीवन प्रतिष्ठान नेपाल तथा नेपाल रेडक्रस सोसाइटी कमल पालिका शाखाले समन्वय गरेका थिए।
सो अवसरमा पालिका अध्यक्ष राईले डेंगु नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै प्रत्येक घर परिवारले नियमित रूपमा आफ्नो घर–आँगन वरपर पानी जम्न नदिने र लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो।


