२०८३ असार ३० मङ्गलवार , १०:०५:४९ बजे

Sajhamanch
'

कमलमा शिक्षक, कर्मचारी र सेवानिवृत्त शिक्षक सम्मानित

बिहिवार, असार २५, २०८३

कमल । कमल गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, उत्कृष्ट कार्यसम्पादनको कदर तथा शिक्षण पेसाप्रति थप उत्साह र प्रेरणा प्रदान गर्ने उद्देश्यले उत्कृष्ट शिक्षक, कर्मचारी तथा सेवानिवृत्त शिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

गाउँपालिकाको शिक्षा शाखाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बुधबार आयोजित विशेष कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक, कर्मचारी तथा लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याई सेवानिवृत्त भएका शिक्षकहरूलाई सम्मान गरेको हो ।

शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सहभागीहरूले शिक्षा क्षेत्रप्रति स्थानीय सरकारको सकारात्मक प्रतिवद्धताको रूपमा लिएका छन् ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी, जनप्रतिनिधि, शिक्षा शाखाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, लामो समयसम्म शिक्षण पेसामा समर्पित रही समाजमा ज्ञान, सीप र संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्याएका सेवा निवृत्त शिक्षकहरूलाई पनि सम्मान पत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हुकुमसिंह राईले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नु भनेको उनीहरूको मेहनत, समर्पण र जिम्मेवारीको कदर गर्नुका साथै अन्य शिक्षक तथा कर्मचारीलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरित गर्नुरहेको बताउनु भयो ।

अध्यक्ष राईले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण, शिक्षक क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न गाउँपालिका प्रतिवद्ध रहने अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रममा शिक्षा शाखाका प्रतिनिधिहरूले सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै विद्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउनु, स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु तथा सेवा निवृत्त शिक्षकहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताउनु भयो ।

सम्मानित शिक्षक तथा कर्मचारीहरूले आफूहरूको कामको उचित मूल्याङ्कन भएको महसुस भएको प्रतिक्रिया दिनु भएको थियो । स्थानीय सरकारले गरेको सम्मानले आगामी दिनमा अझ जिम्मेवार, अनुशासित र समर्पित भएर काम गर्ने प्रेरणा मिलेको सम्मानित हुनु हुने शिक्षक विजयकुमार अधिकारीले बताउनु भयो ।

त्यस्तै सम्मानित सेवा निवृत्त शिक्षकहरूले आफ्नो जीवनभरको शिक्षण यात्राको कदर भएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

गाउँपालिकाले आगामी वर्षहरूमा पनि उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीय तहबाट शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यको सम्मान गर्ने यस्तो अभ्यासले विद्यालयमा सकारात्मक कार्यसंस्कृति विकास गर्न, शिक्षक तथा कर्मचारीको मनोबल बढाउन र समग्र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गरिएको शिक्षा शाखाका प्राविधिक रविन गौतमले बताउनु भयो ।

यसैगरी २०८२ सालको एसईई र कक्षा १२ को परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्याललयलाई ३० हजार रुपैयाँले पुरस्कृत गरियो ।

सम्बन्धित खबर