
झापा । जिल्ला प्रहरी कार्यालय झापाले गृहमन्त्री सुधन गुरुङले काँकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षाकर्मीहरूको मोबाइल नियन्त्रणमा लिइएको तथा तस्करीमा संलग्न प्रहरीमाथि निगरानी बढाइएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा भ्रामक, निराधार र तथ्यहीन रहेको स्पष्ट पारेको हाे ।
विज्ञप्तिमा प्रकाशित समाचारमा उल्लेख गरिएजस्तो कुनै घटना नभएको उल्लेख गर्दै पुष्टि नभएका तथा आधारहीन सूचना प्रकाशन, प्रसारण वा सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरिएको छ।
झापा प्रहरीले सत्य, तथ्य र आधिकारिक सूचनाका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै अपुष्ट सूचनाले समाजमा भ्रम सिर्जना गर्ने भएकाले जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेको छ।


