फिदिम । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ७ का अध्यक्ष देउकुमार आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय टथेनहाङको मृत्यु प्रकरणमा छानबिनका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
टथेनहाङको २०८१ असार १३ गते राति वडाध्यक्ष आङदेम्बेकै घरमा सुतिरहेको अवस्थामा निधन भएको थियो । २ वर्षअघि मृत्यु भएका उनै टथेनहाङको मृत्यु शंकास्पद ठानेर छानविनका लागि वडाध्यक्ष पक्राउ परेका हुन् ।
वडाध्यक्षकै घरमा बस्दै आएका टथेनहाङको मृत्यु प्रकरणमा घटनालगत्तै प्रहरी निरीक्षक बिनालाल साह नेतृत्वका प्रहरीले एक महिनासम्म अनुसन्धान गरे पनि हत्या भएको नठहर्ने भन्दै पक्राउ गरेको थिएन ।
यसैबीच मृतककी आमा लालकुमारी चेम्जोङले बयानका क्रममा वडाध्यक्षमाथि शंका लागेको बताएपछि जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन बोलाएर उनलाई नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।
पाँचथरका प्रहरी प्रमुख (प्रनाउ) अनिषकुमार कर्णले वाडध्यक्ष आङ्देम्बेमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न मंगलबार नै पाँचथर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिए ।


