
झापा । आज बिहान भएको अन्तिम १६ अन्तरगतको खेलमा ब्राजिललाई पराजित गर्दै नर्वे क्वाटर फाइनल प्रवेश गरेको छ। न्यूयोर्कको न्यू जर्सी स्टेडियममा भएको खेलमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलले ले पराजित गरेको हो।
नर्वेका एर्लिङ हालन्डले दुवै गोल गरेका हुन् । ब्राजिलको लागि खेलको इन्जुरी समयको १०औं मिनेटमा नेयमार जुनियरले पेनाल्टीमार्फत गोल फर्काएका थिए। तर त्यो गोल ब्राजिलको विश्वकप यात्रा कायम राख्नको लागि पर्याप्त बनेन।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा एलिङ हल्यान्डले दुई गोल गर्दै नर्वेलाई पहिलो पटक क्वाटरफाइनलको बाटो देखाएका हुन्।
खेलको तेस्रो मिनेटमा नै ब्राजिलविरुद्ध नर्वेका लागि प्याट्रिक वर्गले पहिलो गोल गरेका थिए । तर त्यो गोल गरेर खेलाडीले सेलिब्रेट गर्न नपाउँदै लाइन्स रेफ्रीले अफसाइडको झण्डा उठाइदिए।
खेलको १४औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो। नर्वेका क्रिस्टोफर अजेरले ब्राजिलका म्याथ्युस कुन्हालाई खेलको १०औं मिनेटमा फाउल गर्दा ब्राजिलले सुरुवाती समयमा नै पेनाल्टी पाएको थियो। ब्राजिलका लागि ब्रुनो गुइमारेसले पेनाल्टी प्रहार गरेका थिए तर नर्वेका गोलकिपर ओर्जन नेल्यान्डले उत्कृष्ट बचाउ गरिदिए।
ब्राजिलका लागि पछिल्लो ४० वर्ष यता पेनाल्टीमा गोल गर्न नसक्ने ब्रुनो पहिलो खेलाडी बने । सन् १९८६ मा ब्राजिलका जीकोले फ्रान्सविरुद्ध पेनाल्टी मिस गरेका थिए। त्यसयता ब्राजिलका कुनै पनि खेलाडीले पेनाल्टी मिस गरेका थिएनन्।
खेलको ६८औं मिनेटमा ब्राजिलका सुपरस्टार नेयमार मैदान प्रवेश गरे । उनले गाब्रियल मार्टिनेलीलाई प्रतिस्थापन गर्दै जारी विश्वकपमा दोस्रो पटक मैदान प्रवेश गरेका हुन्।
खेलको ७९औं मिनेटमा एर्लिङ हालान्डको हेडरमार्फत नर्वेले ब्राजिल विरुद्ध अग्रता बनाएको थियो। निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा एर्लिङ हालान्डले उत्कृष्ट फिनिस गरे।
यससँगै पाँच पटकको विश्वकप विजेता ब्राजिल भने अन्तिम १६ बाट नै घर फर्किएको छ। सन् १९९० यता ब्राजिल पहिलोपटक अन्तिम १६ बाट बाहिरिएको हो। सन् १९९० मा भने ब्राजिललाई राउन्ड अफ १६ मा अर्जेन्टिनाले हराएको थियो।


