
बिर्तामोड । बिर्तामोड नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई विभिन्न प्रकारका उद्यम सञ्चालनका लागि आवश्यक प्रविधि तथा उपकरण वितरण गरेको छ।
सिलाइ–कटाइ, ब्युटी पार्लर, धूपबत्ती तथा साबुन निर्माण सम्बन्धी तालिम लिएर उद्यमशील बन्न इच्छुक महिलाहरूलाई २० प्रतिशत लागत साझेदारीमा ती उपकरण उपलब्ध गराइएको हो।
नगरपालिकाले ९ थान बडी सिलाइ मेसिन, ५ थान इन्टरलक मेसिन, ८ थान प्याकेजिङ मेसिन, ३ थान जूकी मेसिन, ६ सेट साबुन ड्राइ फर्मा, १ थान डिजिटल काँटा, ११ थान हेयर ड्रायर, ११ थान कैंची, ११ सेट म्यानिक्योर तथा ११ सेट पेडिक्योर सामग्री वितरण गरेको जनाएको छ।

नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नं. ७ का अध्यक्ष अविरलकृष्ण खरेल तथा वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले ती सामग्री हस्तान्तरण गर्नुभयो।
सोही अवसरमा ब्युटी पार्लर, सिलाइ–कटाइ लगायतका विभिन्न सीपमूलक तालिम पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

बिर्तामोड नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न वडामा ब्युटी पार्लर, सिलाइ–कटाइ, अचार, गुडिया, दालमोठ–भुजिया, साबुन–सर्फ, धूपबत्ती, पोते उन्ने, माला बनाउने लगायत दर्जनौँ प्रकारका सीपमूलक तालिम सञ्चालन गर्दै आएको कार्यक्रमका सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो।


