२०८३ असार ३० मङ्गलवार , ०९:४६:५५ बजे

Sajhamanch
'

फिफा विश्वकप २०२६ मोरक्को र फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

आइतवार, असार २१, २०८३

झापा । विश्वकप २०२६ को सहआयोजक राष्ट्र क्यानडालाई हराउँदै मोरक्को फिफा क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अर्को खेलमा पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स पनि क्वार्टफाइनलमा प्रवेश गरेको छ ।।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्कोले जीत निकालेको हो । यस्तै अमेरिकाकै फिलाडेल्फिया स्टेडियममा भएको अर्को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो ।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ । यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए । उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो ।

मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।

कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्‍याए । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट प्रहार गरेपनि गोल भने गर्न सकेन । बल पोजिसनमा मोरक्को अघि रह्यो ।

सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली हो ।

पहिलोपटक नकआउट चरणमा पुगेको क्यानडा मोरक्कोसँगको हारसँगै विश्वकपबाट बाहिरिएको हो । क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र हो । अन्य आयोजक राष्ट्र अमेरिका क्वार्टरफाइनल पुगिसकेको छ भने मेक्सिकोको एउटा खेल बाँकी नै रहेकाले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ ।

यस्तै, अहिले बिहानको अर्को खेलमा फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

जारी विश्वकपमा एम्बाप्पेको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि परेका छन्।

खेलमा फ्रान्स हाबी बन्यो । ५९ प्रतिशत प्रतिशत बल पोजिसनमा राखेको फ्रान्सले खेलमा १५ सर्ट प्रहार गर्‍यो । पाराग्वेले ५ सर्ट मात्र प्रहार गरेको हो । जसमा एउटामात्रै सर्ट अन टार्गेट रह्यो । १८ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौंपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित खबर