२०८३ असार ३० मङ्गलवार , १०:०४:२६ बजे

Sajhamanch
'

कर्णालीमा खसेको गाडीमा पाँच जनामात्रै सवार थिए वा अरु कोही गुमनाम ?

शनिवार, असार २०, २०८३

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ साँघुटार क्षेत्रबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जना यात्रुको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको पहिचान सार्वजनिक गरेको हो ।

उक्त गाडीको चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका रहेको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी सिर्जना खड्का कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी हुन् । अर्का यात्रु मेखे तिरुवा र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका–१ का रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुष्पराज रोकायले बताए ।

‘गाडीमा कति यात्रु सवार थिए ? वा, यिनै पाँचजना बाहेक अरु कोही सवार थिएनन् भन्ने विषयमा अनुसन्धान जारी छ रहेको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी रोकायले भने, ‘कर्णाली नदीको बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य तीव्र पारेका छौं ।’

प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार दिउँसो करिब ११ः३० बजे सडकबाट झन्डै ४ सय मिटर तल कर्णालीमा खसेको थियो।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय नागरिकको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर