२०८३ असार ३० मङ्गलवार , ०९:२६:४० बजे

Sajhamanch
'

फिजिकलबाट डिजिटल युगमा जाने कांग्रेसको अभियान क्रियाशील सदस्यताबाट सुरु

शुक्रवार, असार १९, २०८३

विर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले निर्धारित समयमै महाधिवेशन गरेर स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी थाल्ने योजनामा पार्टी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका झापामा विभिन्न तहमा रहेका पदाधिकारी एवम् भातृ संगठनका नेतृत्वहरुको सहभागितामा आयोजित भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा. संग्रौलाले यस्तो योजना रहेको बताउनु भएको हो ।

वर्तमान यूग डिजिटल भएको बताउँदै नेता संग्रौलाले सामाजिक सञ्जालको स्टन्टबाजीले मुलुकको राजनीति हल्लाइदिएको बताउनुभयो । नेपाली कांग्रेसलाई पनि समयानुकुल बनाउन डिजिटल माध्यमबाट क्रियाशिल सदस्यता अध्यावधिक थालिएको उहाँको भनाई छ ।

पार्टीले क्रियाशिल सदस्यता वितरण, वडा समितिदेखि केन्द्रीय समितिसम्म ३५ वर्षमुनीका युवा र महिलालाई समेट्ने नीति लिएको बताउँदै उहाँले पार्टीभित्र युवा र महिलाका लागि विशेष अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य बसन्त भट्टराईले १४औं महाधिवेशनबाट निर्वाचित सभापति बाहेक सबै पदाधिकारी र सदस्यहरुलाई केन्द्रीय समितिमा समायोजन गरिनुपर्ने इतर समूहको माग सम्बोधन गर्न विधानतः नमिल्ने धारणा राख्नुभयो ।

झापामा क्रियाशिल सदस्यता अध्यावधिक कार्य राम्ररी भएको बताउँदै उहाँले फिजिकलबाट डिजिटल युगमा जाने पार्टीको अभियान सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई अपिल पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले संगठनको आधारस्तम्भ क्रियाशिल सदस्य रहेको बताउँदै क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधि बन्ने स्वार्थ राखेर क्रियाशिल वितरण नगर्न पनि आग्रह गर्नुभयो ।

एक फरक प्रसङ्गमा उहाँले रास्वपालाई विश्वासको मत दिएका जनता उक्त पार्टीले मतको सदुपयोग गर्न नसक्ने निष्कर्षमा पुग्न थालेको बताउँदै सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिब्यक्ति राष्ट्र र राष्ट्रियताका लागि खतरा रहेको टिप्पणी गर्नुभयो । सुशासन र सुकुम्बासीका सवालमा गरेका कामले रास्वपाको नियतमाथि नै प्रश्न उठ्न थालेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापामा २२ हजार १७७ जनाले क्रियाशिल सदस्यता अध्यावधिक गरेको जानकारी दिँदै यसकार्यमा खटिने वडासमितिसहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको सहजीकरण सचिव नवीन बिमलीले गर्नुभएको थियो ।

सम्बन्धित खबर