२०८३ असार ३० मङ्गलवार , ०९:३७:०३ बजे

Sajhamanch
'

बेइजिङमा आजदेखि ‘नेपाल लगानी सम्मेलन’

बिहिवार, असार १८, २०८३

काठमाडौं । चीनका लागि नेपाली दूतावासले बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङमा नेपाल लगानी सम्मेलन गर्दै छ । सम्मेलनमा सहभागी हुन नेपालका विभिन्न क्षेत्रका ३० भन्दा बढी नेपाली लगानीकर्ता बेइजिङ पुगेका छन् । चीनबाट नेपालमा लगानी आह्वान गर्न यति ठुलो नेपाली प्रतिनिधिमण्डल स्वस्फूर्त रूपमा बेइजिङमा पहिलोपटक उपस्थित भएको हो ।

नेपाली दूतावासका आर्थिक कूटनीतिक प्रमुख पार्वती अर्यालले संयोजन र समन्वय गरेको लगानी सम्मेलनमा चीनबाट पहिलो दिन ८० कम्पनीका लगानीकर्ता सहभागी हुनेछन् । सम्मेलनको सहआयोजक ‘अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन परिषद्’ रहेको अर्यालले जानकारी दिइन् । चीनमा अन्तर्राष्ट्रिय व्यापार र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने सरकारको यो एक प्रमुख संस्था हो ।

‘पहिलो दिन चीनबाट करिब ८० कम्पनीका लगानीकर्ता कार्यक्रममा सहभागी हुने जानकारी अएको छ । कार्यक्रम अवधिभर चीनका तर्फबाट अन्तर्राष्ट्रिय वाणिज्य महासंघ, द्विपक्षीय सहयोग विभागका महानिर्देशक सु छ्याङले प्रतिनिधित्व गर्नुहुनेछ,’ अर्यालले भनिन् ।

सम्मेलनको दोस्रो दिन शुक्रबार नेपाली दूतावासले ‘चीन संयुक्त–स्टक व्यावसायिक उद्यम आर्थिक महासंघको प्लाटफर्म अर्थतन्त्र विशेष समिति’को सहआयोजनामा कार्यक्रम गर्दै छ ।

अर्यालका अनुसार सम्मेलनमा चीन र नेपालका करिब २०० लगानीकर्ताको उपस्थिति रहनेछ । ‘नेपाली लगानीकर्तालाई बढीभन्दा बढी चिनियाँ लगानीकर्तासँग भेटघाट र सम्पर्करसम्बन्ध विस्तार गराउन पहिलो र दोस्रो दिन चीनका फरक–फरक कम्पनीबाट उपस्थिति गराउँदै छौँ’ आर्थिक कूटनीतिक मामिला प्रमुख अर्यालले भनिन् ।

सम्बन्धित खबर