२०८३ असार ३० मङ्गलवार , ०९:४७:२९ बजे

Sajhamanch
'

छिटो नतिजा प्रकाशन तर परीक्षाको विश्वसनीयतामा प्रश्न

मङ्गलवार, असार १६, २०८३

काठमाडौँ । एसईई र कक्षा १२ को नतिजा छिटो प्रकाशन गरेको भन्दै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा प्रश्न उठेको छ । बोर्डले परीक्षा सकिएको ४०औं दिनमा कक्षा १२ र २९ औं दिनमा एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसअघि नतिजा प्रकाशनका लागि ७० देखि ९० दिनसम्म लाग्ने गरेको थियो ।

तर, गत साता नतिजामा चित्त नबुझेको भन्दै कक्षा १२ का परीक्षार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन नै गरे । उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको राजीनामासमेत मागे । नतिजामा चित्त नबुझेका कक्षा १२ का ३२ हजार ८०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए ।

एसईईको नतिजामा पनि चित्त नबुझेर ३२ हजार २०० विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये १ हजार ८७९ जनाको नतिजामा परिवर्तन आएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । आवेदन दिनेमध्ये ५.८१ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आएको हो । गत वर्ष २६ हजार ३०० विद्यार्थीले आवेदन दिँदा ८९० जना अर्थात् ३.३२ प्रतिशतको नतिजामा परिवर्तन देखिएको थियो ।

कक्षा १२ मा भने गत वर्षभन्दा थोरैले मात्र पुनर्योगका लागि आवेदन दिएको शर्माले जनाए । गत वर्ष ४२ हजार २०० जनाले पुनर्योगका लागि आवेदन दिँदा ३ प्रतिशत हाराहारीमा नतिजा परिवर्तन आएको थियो । यस वर्ष पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा आइसकेको छैन ।

विद्यार्थीले नतिजामा आशंका गर्दै काठमाडौंमा प्रदर्शन गरेपछि शिक्षामन्त्री पोखरेलले मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिव प्रतिनिधि रहेको अध्ययन समिति गठन गरेका छन् । समितिले उत्तरपुस्तिका स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन लगायत काम गरी प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर