२०८३ असार ३० मङ्गलवार , ०८:५६:२९ बजे

Sajhamanch
'

‘पार्वती’को गीतमा टिकटक, उत्कृष्टलाई ५० हजार पुरस्कार

सोमवार, असार १५, २०८३

काठमाडौँ । नीता फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘पार्वती’ले भर्खरै सार्वजनिक भएको गीत ‘नौतुना रेलैमा’मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कारसहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ ।

प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

जसअनुसार प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार २० हजार रुपैयाँ रहेको छ । साथै ५ जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट समेत उपलब्ध गराइने निर्माण पक्षले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा #parvati #bhadra12 #nautunarailaima अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ । उत्कृष्ट भिडियो र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिने जनाइएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठको नृत्य रहेको छ ।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन् । सो फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको उक्त फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते जनैपूर्णिमाको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

सम्बन्धित खबर