
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित निजी विद्यालयमा कार्यरत शिक्षकलाई शिक्षक अभिमुखीकरण तालिम अन्तरगत निरन्तर मूल्याङ्कन प्रणाली (सिएएस) सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलको आयोजनामा शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको हो ।
आधारभूत तह अन्तरगत कक्षा १ देखि ५ सम्म कार्यरत १७० जना शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणालीको अवधारणा, उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा व्यवहारिक प्रयोगका बारेमा लक्ष्मी नेपाल र पुष्प पाण्डेले सहजीकरण गर्नु भएको हो ।

विद्यार्थीको सिकाइ उपलब्धिलाई केवल वार्षिक परीक्षामा सीमित नराखी दैनिक कक्षाकोठा गतिविधि, परियोजना कार्य, गृहकार्य, प्रस्तुतिकरण, व्यवहार, सहभागिता तथा सिर्जनात्मक कार्यका आधारमा समग्ररूपमा मूल्याङ्कन गर्नु नै निरन्तर मूल्याङ्कन प्रणाली अन्तरगत पर्ने कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने बताउनु हुन्छ ।
सहभागी शिक्षकलाई नयाँ पाठ्यक्रम अनुसार विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्ने प्रभावकारी विधि, विद्यार्थीको प्रगति अभिलेखीकरण, मूल्याङ्कनका सूचक निर्माण तथा अभिभावकसँग समन्वय गर्ने उपायबारे व्यवहारिक उदाहरणसहित प्रशिक्षण गराइएको थियो ।
तालिमले शिक्षकहरूको मूल्याङ्कन सम्बन्धी ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनुका साथै विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ प्रक्रिया विकास गर्न, विद्यार्थीको सिकाइ उपलब्धिलाई निरन्तर सुधार गर्न तथा आधुनिक मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकारात्मक सहयोग पुग्ने प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागोको भनाई छ ।

व्याब्सन कमलले समयानुकूल तथा व्यावसायिक विकासमुखी तालिमहरूलाई निरन्तर रुपमा सञ्चालन गदै आएको र आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्दै प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहजकर्ता, सहभागी शिक्षक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद दिनुभयो ।


