२०८३ असार ३० मङ्गलवार , ०९:५७:५४ बजे

Sajhamanch
'

चन्द्रगढीमा प्रकाश बुढाथोकीको एकल कविता वाचन

आइतवार, असार ७, २०८३

भद्रपुर । झापाली काव्य जगतका स्रष्टा प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम शनिबार चन्द्रगढीमा सम्पन्न भएको छ ।

वर्तमान साहित्य प्रतिष्ठानको आयोजनामा भद्रपुर १० चन्द्रगढीस्थित वडा कार्यालयको सभाहलमा बुढाथोकीको एकल कविता वाचन सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कवि बुढाथोकीले भुइँकुहिरो नामक कविता संग्रहमा संग्रहित कविताहरु मध्येबाट आफ्ना ६ वटा शसक्त कविता वाचन गरेर स्रोतालाई सुनाएका हुन् ।

प्रतिष्ठानका सचिव महेन्द्र कोइरालाको संचालन तथा सदस्य गोपाल सिवाकोटीको स्वागत मन्तव्य राखेको कार्यक्रममा कवि बुढाथोकीको कृति तथा कवित्व बारेमा सहप्राध्यापक चूडामणि वाशिष्ठले समीक्षा गर्दै कवितामा राष्ट्रवाद, मानवताको चाहना, विकृति विसंगती माथि व्यंग्य, सामाजिक सदाचारिताको चाहनाजस्ता विषय वस्तु सशक्त ढंगले भावका रूपमा उठान गरिएको बताए ।

उक्त कार्यक्रममा कवि विरही अधिकारी, आरती पोखरेल, उषा गुरुङ, दयानन्द गोस्वामी, प्राज्ञ हरि पौडेल र मारबाडी भाषाका कवि सत्यनारायण तायलले आ–आफ्ना रचना सुनाएका थिए । सो अवसरमा बाल प्रतिभा प्रविन निरौलाले लोक आधुनिक भाकासहितका गीत गाएका थिए ।

कार्यक्रममा प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, चन्द्रगढी सामुदायिक वन समितिका उपाध्यक्ष श्रीमन नारायण पौडेल, लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे, भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल लगायतले मन्तव्य राखेका थिए ।

प्राज्ञ हरिप्रसाद पौडेलले उद्घाटन गरेको कार्यक्रममा साहित्यकार धनकुटे कान्छाले कवि बुढाथोकीको व्यक्तित्व तथा कृतित्वको परिचय दिँदै २०३० को दशकदेखि नेपाली कविता काव्य क्षेत्रमा प्रवेश गरेका कविले साहित्यको साधनासँगै सामाजिक जागरण र सेवाका क्षेत्रमा पनि थुप्रै काम गरेको जानकारीे दिएका थिए ।

कार्यक्रममा झापाका विभिन्न ठाउँबाट लेखक साहित्यिक श्रष्ठाहरूको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित खबर