२०८३ असार ३० मङ्गलवार , १०:०१:५५ बजे

Sajhamanch
'

भदौ २३-२४ को प्रदर्शनमा भएको क्षतिमा साढे ७ अर्ब बीमा भुक्तानी, अरु प्रक्रियामा

बिहिवार, असार ४, २०८३

काठमाडौँ । गत २३ भदौको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बीमा दाबीमध्ये नौ महिनामा साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा करिब ७ अर्ब रुपैयाँ मात्र भुक्तानी भएको छ ।

बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीमा २३ अर्ब ५३ करोड २६ लाख रुपैयाँको दाबी परेको थियो । त्यसमध्ये हालसम्म ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । यो कुल दाबीको करिब ३२ प्रतिशत मात्र हो । जेन–जी आन्दोलनमा भएको क्षतिमा बीमा कम्पनीहरूमा ३ हजार ६६४ दाबी परेको छ ।

बीमा कम्पनी र नियामक निकाय बीमा प्राधिकरणले हालसम्मको भुक्तानी राम्रो नै भएको दाबी गर्छन् । तर निजी क्षेत्रले भने पर्याप्त भुक्तानी नपाएको गुनासो गरेको छ । सुरुमा प्रायः धेरैले भुक्तानी पाएपछि पछिल्ला महिनामा प्रक्रियागत कारणले केही कम्पनीले दाबी नभएको हुन सक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

‘बीमा कम्पनीहरूले जानाजानी ढिलाइ नगरेका होलान्, तर कागजात नपुगेको लगायत कारण केही बीमा भुक्तानीमा ढिलाइ भएको जानकारी आएको थियो’ उनले भने, ‘तर यो प्रक्रियागत कारणले हो । नियतले होइन ।’

प्रदर्शनमा भएको क्षतिमा करिब एकचौथाइ बीमा दाबी भुक्तानी भए पनि बाँकी नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सबै बीमा दाबी नपाए पनि कम्पनीले आफ्नै बलबुताले क्षतिको पुनर्निर्माण गरिरहेका छन्’ उनले भने ।

तर बीमा कम्पनीहरूले सबै कागजात पुगेका र मूल्यांकन सकिएका दाबीको भुक्तानी गरिरहेको जनाएका छन् । ‘ठूलाको मूल्यांकन प्रतिवेदन आउन बाँकी छ । प्रायः सबैले अग्रिम रूपमा केही भुक्तानी पाएका छन् । मूल्यांकनको काम नसकिएकाले ठूला दाबीमा सबै भुक्तानी नभएको हो’ नेपाल बिमक संघका पूर्वअध्यक्ष चंकी क्षेत्रीले भने ।

हालसम्मको भुक्तानी राम्रो भएको क्षेत्रीको भनाइ छ । ‘हालसम्मको भुक्तानी निकै राम्रो हो । किनकि साढे २३ अर्बको दाबी परे पनि यथार्थमा यो बढीमा १४ १५ अर्ब मात्र हुन आउँछ’ क्षेत्रीले भने, ‘यसकारण हालसम्मको यो भुक्तानीलाई राम्रो नै मान्नुपर्छ ।’

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बीमा कम्पनीले बताएका छन् । उनीहरूका अनुसार पूर्ण क्षति भएका सवारीसाधन लगायत सम्पत्तिको बीमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर)को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको हो ।

नियामक निकाय बीमा प्राधिकरणले पनि हालसम्मको भुक्तानी सन्तोषजनक मान्नुपर्ने जनाएको छ । होटल हिल्टन, भाटभटेनी लगायत केही ठूला क्षति सम्बन्धमा सर्भेयरले प्रतिवेदन दिइसकेको छैन । केही कम्पनीको दाबीमा विवाद सिर्जना भएकाले भुक्तानी कम देखिएको प्राधिकरणका एक उच्च अधिकारीको भनाइ छ ।

‘संख्याका आधारमा धेरै भुक्तानी भइसकेको छ । अब थोरै तर ठूला दाबीको मात्र भुक्तानी बाँकी छ’ ती अधिकारीले भने, ‘हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर कारोबार र त्यसका सञ्चालकका सम्बन्धमा अध्ययन र मुद्दा दायर भएपछि पछिल्ला एक दुई महिना अरू बीमा कम्पनी पनि त्रस्त भएकाले भुक्तानीमा ढिलाइ भएको थियो ।’

अब बीमा कम्पनी, पुनर्बिमा कम्पनी लगायतलाई निरन्तर प्राधिकरणमै डाकेर छिटो भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिइरहेको ती अधिकारीले बताए । बीमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बीमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ ।

नेपाल जस्तै सामाजिक, आर्थिक अवस्था भएका अरू देशमा पनि यही गतिमा बीमा भुक्तानी हुने गरेको प्राधिकरणको दाबी छ । दाबी भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्ने र मूल्यांकन पूरा भएकाहरूको हकमा बीमा भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

हालसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ५ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ सम्पत्ति बीमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बीमामा घर, अपार्टमेन्ट लगायत स्थिर सम्पत्ति पर्छन् । यो बीमामा ७२१ वटा दाबीमा १९ अर्ब १२ करोड ९६ लाखको मागदाबी परेको छ । सम्पत्ति बीमापछि धेरै भुक्तानी भएको मोटर बीमा हो । जसमा २ अर्ब ५ करोड ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।

ठेकेदार तथा इन्जिनियरिङ बीमामा १३ करोड ९९ लाख, पारवहन बीमामा १ करोड ७० लाख र अन्य बीमामा ९ करोड ४१ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बीमा दाबीमध्ये करिब ७० प्रतिशत सम्पत्ति बीमाको छ । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै क्षति बागमतीमा रहेको देखिएको छ ।

कान्तिपुरमा यज्ञ बञ्जाडेको सामग्री

सम्बन्धित खबर