
द्रोण अधिकारी
झापा । भारतले नेपाली चिया निर्यातमा परीक्षणको बाहनामा कडाइ गर्दा झापाका निजी क्षेत्रको लगानीमा सञ्चालनमा रहेका चिया उद्योग बन्द हुने भएका छन् । इलामका चिया उद्योगीहरुले असार १ गतेदेखि नै आफ्नै उद्योग ठप्प पारेका थिए ।
नेपाल चिया उत्पादक संघले भद्रपुरमा आज पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार भारतीय चिया बोर्डले गुणस्तर परीक्षणको बाहनामा नेपाली चियालाई भारतीय बजार पुग्न सकस पारेपछि झापाली चिया उद्योग मार्फत उत्पादन हुँदै आएको सिटीसी तथा अर्थोडक्स चिया उत्पादन असार ४ बाट रोक्नु परेको हो ।
संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नेपालबाट भारत निर्यात गरिने चियाको विभिन्न परीक्षण गर्ने बाहनामा २० देखि २५ दिनसम्म भारतीय खरिदकर्ताका गोदाममा राख्नुपर्ने बाध्यताका कारण लागत खर्च बढ्ने र गुणस्तर रिपोर्टमा समेत विश्वासको वातावरण नरहेका कारण नेपाली चिया भारत पठाउन कठिनाइ आउँदा सरकारले थाहा पाएर पनि चासो नराखेपछि उद्योगीले उत्पादन रोक्न बाध्य भएका हुन् ।
पछिल्लो डेढ महिनायता भारतीय सरकारले नेपाली चिया निर्यातमा पटक पटक भाँजो हाल्दा नेपाल सरकारको तर्फबाट समस्या समाधान गर्न कुनै भूमिका नदेखिएपछि संघको अध्यक्ष नेतृत्व टोलीले कृषिमन्त्री र सचिवसँग समस्या हल गर्न पटक पटक आग्रह गरेका थिए । तर समस्या समाधान नभएपछि प्रधानमन्त्रीसित भेटेर चिया निर्यातको समस्या निराकरणका लागि प्रयास गर्दा चिया उद्योगीसित प्रधानमन्त्रीले भेट नदिएको उद्योगीहरूको गुनासो छ ।
हरेक वर्ष चिया उत्पादनको उर्वर समयमा भारतले नेपालको चिया निर्यातमा बाधा सिर्जना गर्ने गरे पनि विगतका प्रधानमन्त्रीहरूले समकक्षीसित संवाद चलाएर समस्या हल गर्ने गरेका भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले चियाका समस्या नसुनेकै कारण जटिल अवस्था सिर्जना भएको संघका अध्यक्ष पराजुली बताउँछन् ।

नेपालबाट भारततिर वार्षिक रूपमा ५ अर्ब रूपैयाँ बराबरको चिया निर्यात हुने गरेको जानकारी दिँदै अध्यक्ष पराजुलीले कृषि उद्योग भए पनि चिया क्षेत्रले नेपाल सरकारलाई विभिन्न शीर्षकमा एक अर्बभन्दा बढी राजश्व बुझाउँदै आएको तर राज्यको नेतृत्व लिनेहरूले चियालाई विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण नेपाली उत्पादनका रूपमा नहेरेकै कारणले हरेक वर्ष निर्यात व्यापारमा कठिनाइ सहनु परिरहेको जानकारी गराए ।
संघका अनुसार भारतीय बजारमा पुगेको करिब पाँच लाख किलो नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सोभन्दा तीन गुणा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता पनि पूरा भइसकेको छ भने किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाउँदा बजारमा बिक्री हुने अवस्था छैन ।
संघका महासचिव सूर्य दाहाल भण्डारण गर्ने ठाउँ भरिइसकेको र किसानलाई भुक्तानी रोक्न नमिल्ने कारण उद्योग बन्द गरेर उत्पादन ठप्प पार्नुको विकल्प नरहेको बताउँछन् ।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० देखि २५ दिनभन्दा बढी समय लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ ।
परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ । उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो नै अवरोध भएजस्तै परिस्थितिले उद्योग सञ्चालन गर्न सक्ने अवस्था आएको संघका सल्लाहकार चण्डी पराजुली बताउँछन् ।
नेपाली चियाको निर्यात समस्या समाधान गर्न सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउँदै पराजुली सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्न नसक्दा अर्बौं रूपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा उत्पन्न भएको भनाइ छ ।
चिया उत्पादन गर्ने उद्योग बन्द भए हजारौँ किसान प्रभावित हुनेछन् भने ६० हजार बढी मजदुरको रोजगारीमा समेत संकट उत्पन्न हुन सक्ने अनुमान छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको विवरण अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ भने वार्षिक सवा चार अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ ।
त्यसबाहेक सिटीसी चिया झापाबाट उत्पादन भइ सोही हाराहारीमा भारतीय बजारमा निर्यात हुँदा अरबौंको व्यापार हुने गरेको छ । पछिल्ला वर्षहरूमा भारत सरकारको अवरोधले नेपाली चिया निर्यातमा अल्झन बढ्न थालेपछि विकल्पमा बंगलादेश र पाकिस्तानमा नेपाली चियाको बजार विस्तार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।


