
बिर्तामोड । यहाँस्थित एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले बाह्रदशी गाउँपालिका–७ डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई छाता वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मार्टले विद्यार्थीको शिक्षामा टेवा पुर्याउन विद्यालयमा नै गएर छाता वितरण गरेको हो ।
वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका धेरै विद्यार्थीका लागि विद्यालय पुग्नु नै चुनौतिपूर्ण बन्ने गरेको छ । कतिपय विद्यार्थी झरीमा भिज्दै विद्यालय पुग्न बाध्य हुन्छन् भने कतिपयले वर्षाका कारण कक्षा नै छुटाउने अवस्था पनि रहन्छ । आर्थिक अभावका कारण छाता किन्न नसक्ने परिवारका बालबालिकाका लागि एउटा छाताले केवल पानीबाट जोगाउने काम मात्र गर्दैन, त्यसले उनीहरूको शिक्षाप्रतिको यात्रालाई निरन्तरता दिने आधार पनि तयार गरिदिन्छ ।
यही यथार्थलाई आत्मसात् गर्दै बिर्तामोडस्थित मार्टले छाता हस्तान्तरण गर्दा विद्यालय परिसरमा खुसीको वातावरण सिर्जना गरेको थियो । मंगलबार आयोजित कार्यक्रममा फेसन मार्टका सञ्चालक चान मोहम्मद र व्यवस्थापक गणेश भुजेलले संयुक्त रूपमा छाता हस्तान्तरण गरेका हुन् ।
प्रधानाध्यापक लेखनाथ कटुवाल, सहायक प्रधानाध्यापक हेम राजवंशी, बाह्रदशी गाउँपालिकाको शिक्षा शाखा अधिकृत योगराज पौडेल तथा सूचना अधिकारी हिमाल सुवेदीको हातबाट विद्यार्थीलाई छाता हस्तान्तरण गरिएको थियो ।
छाता हातमा परेपछि विद्यार्थीको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमलाई अझ भावुक बनाएको थियो । कतिपय विद्यार्थीले पहिलो पटक आफ्नै नाममा नयाँ छाता पाएको अनुभूति साटासाट गरिरहेका थिए । वर्षाको समयमा विद्यालय आउँदा भिज्नुपर्ने बाध्यता अब केही हदसम्म कम हुने विश्वास उनीहरूमा देखिन्थ्यो ।
कार्यक्रममा बोल्दै एभरेष्ट फ्रेस एण्ड फेसन मार्टका सञ्चालक चान मोहम्मदले वर्षायाममा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले छाता वितरण गरिएको बताए । शिक्षा हासिल गर्ने क्रममा आर्थिक अभावले कुनै पनि बालबालिकाले कठिनाइ भोग्न नपरोस् भन्ने सोचका साथ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको उनको भनाइ थियो ।


