२०८३ असार ३० मङ्गलवार , ०९:५८:२० बजे

Sajhamanch
'

सिटौला र शर्माबीच झापामा वार्ता

मङ्गलवार, असार २, २०८३

झापा । नेपाली कांग्रेसका पूर्वा महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीका उपसभापति विश्वप्रकाश शर्मा बीच आज झापामा वार्ता भएको छ ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधन भएको चौथो दिन धुलाबारीस्थित भण्डारी निवासमा परिवारलाई समवेदना व्यक्त गर्न पुग्नु भएका नेता सिटौला र शर्माबीच वार्ता भएको हो ।

भण्डारी निवासमा शर्मा र सिटौलाबीच अलग्गै कोठामा ‘वान टु वान’ वार्ता भएको नेपाली कांग्रेसका सचिव कृष्ण हुँमागाईले जानकारी दिनुभयो ।

वार्तामा के कुरा भयो भन्ने जिज्ञासामा जिल्ला सचिव हुमागाईले भन्नुभयो– ‘दुई नेता वीच अलग्गै कुराकानी भएकाले त्यो हामीलाई थाहा भएन, तर उपसभापति शर्माले पार्टी भित्र एकता कायम गर्न तपाईहरुले पनि दाईहरुलाई भन्नुपर्यो, भन्नुभयो ।’

सिटौलाका साथमा पार्टीका पूर्व केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला उपसभापति केशवराज पाण्डे, सचिव हुमागाई, बिर्तामोड नगरसभापति भोजराज सिटौला, तरुणदलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती, नेविसंघ झापाका सभापति सञ्जय निरौला भण्डारी निवासमा पुग्नु भएको थियो ।

समाचार स्रोतका अनुसार उपसभापति शर्माको काका याम भण्डारीको निधनप्रति परिवारजनमा समवेदना दिन सिटौला धुलाबारी गएका थिए । त्यही समय शर्मा र सिटौला वीच १० देखि १५ मिनेटसम्म कुरा भएको हो ।

१६ जेठमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गत आइतबार पाँच नेताहरूलाई सहमतिका लागि पठाइएको सात बुँदे प्रस्तावमा संस्थापनइतरबाट जवाफ नआएको उपसभापति शर्माले सिटौलासँग बताएका थिए ।

संस्थापनइतरका नेताहरू एक ठाउँमा बसेर त्यस सम्बन्धमा एउटा धारणा बनाउन समेत शर्माले सिटौलासँग आग्रह गरेका थिए ।

सिटौलासँग राखेको प्रसंग सुनाउँदै झापाका एक नेताले शर्माको बोली उद्धृत गर्दै भने, ‘हाम्रो धारणा सभापति गगन मार्फत आउँछ । तपाईंहरूले बनाएको धारणा बाहिर ल्याउने को हो ? सात बुँदे ठिक वा बेठिक भन्ने व्यक्ति तपाईंहरूबाट को हो ? आधिकारिक धारणा ल्याउने व्यक्ति यो हो भनेर हामीले कसलाई चिन्ने ?’

सभापति र उपसभापति नै सहमतिका लागि सात बुँदे प्रस्ताव पठाउने, भेट्न जाने, वार्ता गर्ने लगायतका कार्य गरेको जानकारी शर्माले सिटौलालाई गराएका थिए ।

सम्बन्धित खबर