२०८३ असार ३० मङ्गलवार , ०९:२९:३६ बजे

Sajhamanch
'

बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरुको सीमा सम्बन्धी बैठक सम्पन्न

शनिवार, जेठ ३०, २०८३

झापा । नेपाल र भारतबीच सीमा विवादको प्रसंग उठिरहेका बेला दुवै देशका अधिकारीहरु बीच सीमा सम्बन्धी संयुक्त बैठक शुक्रबार झापाको बिर्तामोडमा गरिएको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको भारतसंग जोडिएको सीमाका बारेमा बैठकमा छलफल भएको थियो । सीमामा रहेका पिल्लरहरु के कति भत्किएका छन् र के कति मर्मत भएका छन् भन्ने विषयमा दुवै देशका अधिकारीहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फिल्डमा खटिएका टीमहरुले ३ महिनाको अवधिमा निर्माण र मर्मत गरेका पिल्लरका बारेमा बैठकमा विवरण प्रस्तुत गरेको बताइएको छ ।

सीमामा रहेका पिल्लरहरुको रिपेयर र कन्स्ट्रक्सनका विषयमा बैठकमा प्रोग्रेस रिपोर्ट पेश गरिएको नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले बताए । सीमा स्तम्भ मर्मतका विषयमा नियमित रुपमा यस किसिमको संयुक्त बैठक बस्दै आएको छ ।

नापी विभाग सीमा शाखा काठमाडौको आयोजनामा बिर्तामोडको किङ्सबेरी होटलमा नेपाल भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड कार्य अन्तर्गतको फिल्ड सर्भे मिटिङ सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले बताए ।

बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारीहरु तेजप्रकाश प्रसाई, अन्जन न्यौपाने, नापी अधिकृत शिवप्रसाद लम्साल, डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, प्रहरी उपरीक्षक वसुन्धरा खड्का सहभागी थिए ।

यस्तै, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक कुलदीप चन्द, सशस्त्र प्रहरी नायव उपरीक्षक हेम पौडेल, डिभिजन वन अधिकृत राजकुमार खत्री, सहायक अनुसन्धान अधिकृत सुशान्त बराल र सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेल उक्त बैठकमा सहभागी थिए ।

बैठकमा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, प्रहरी नायव उपरीक्षक उमेश जोशी र सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक सहभागी थिए ।

यसैगरी उक्त सीमा बैठकमा पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाईं, प्रहरी नायव उपरीक्षक अनिशकुमार कर्ण, डिभिजन वन अधिकृत पशुपति दाहाल र सशस्त्र प्रहरी नायव उपरीक्षक चिरञ्जीवी प्रसाई सहभागी रहेको जनाइएको छ ।

त्यस्तै सीमा सम्बन्धी भारतीय उच्च अधिकारीहरु पनि सहभागी रहेका थिए । भारत बिहार राज्य किशनगन्ज जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट बिशाल राज, एसएसबीका १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, एसएसबीका ३६औँ बटालियन कमान्डेन्ट सञ्जीव कुमार, उप कमान्डेन्ट अभिजित दास , एसएसबीका ८औँ बटालियनका कमान्डेन्ट वसन्त सामी, सर्वेक्षक अधिकृत सन्तोष प्रसाद, सर्वेक्षक अधिकृत हिमाद्री शेखर चक्रवर्तीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर