२०८३ असार ३० मङ्गलवार , ०९:१३:०७ बजे

Sajhamanch
'

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौंदेखि विराटनगर डिजिटल कोरिडोरको अवधारणा सार्वजनिक

शुक्रवार, जेठ २९, २०८३

सुनसरी । क्यान महासंघ कोशी प्रदेश र जिल्ला शाखाहरूको सक्रियतामा डिजिटल नेपाल विकेन्द्रीकरण संवाद सञ्चालन गरिएको छ ।

नेपालको सूचना प्रविधि (आइटी) अर्थतन्त्रको परिदृश्यलाई द्रुतरूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ डिजिटल अभियानको सुरुवात गरिएको जनाइएको छ।

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौंदेखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले नीतिगत मार्गचित्र सार्वजनिक गरेका हुन् ।

प्रादेशिक डिजिटल अभियानलाई कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशले संयोजन गरेको छ भने क्यान महासंघ मोरङ, सुनसरी, उदयपुर र झापा जिल्ला शाखाको सहकार्यमा अगाडि बढाएको सचिव कृष्णप्रसाद घिमिरेको भनाई छ ।

सुनसरीमा भएको संवाद कार्यक्रम क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षता तथा क्यान महासंघ केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो ।

क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठले कार्यवाहक अध्यक्ष अधिकारीद्वारा विकसित अवधारणात्मक मार्गचित्रलाई कोशी प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने विश्वास दिलाउनु भयो ।

कोशीको प्रविधि इकोसिस्टमका लागि नेतृत्वकर्ताहरूको एकीकृत संकल्पलाई क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईले कार्यान्वयनमा लैजाने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, कोशी क्षेत्र आफैंमा एक क्षेत्रीय आईटी हब हो र यस क्षेत्रका प्रत्येक सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न हामी पूर्ण रूपमा तयार छौँ।

सम्बन्धित खबर