
बिर्तामोड । झापाको बिर्तामोडमा यही जेठ ३० र ३१ गते रोजगार मेला लाग्ने भएको छ ।
रोजगारीको खोजीमा रहेका नागरिक र रोजगारको अवसर प्रदान गर्ने संस्थाहरुको सहजताका लागि मेला आयोजना गरिएको हो । मेला बिर्तामोडस्थित अतिथि सदनको हलमा लाग्नेछ ।
मेलामा २५ वटा स्टल रहने सहजकर्ता सेवक बजगाईंले जानकारी दिए । मेलामा १८ देखि ५९ वर्ष सम्मका दक्ष, अर्ध दक्ष र अदक्ष मानिसहरूले भ्रमण गर्नसक्ने आयोजकले जनाएको छ। मेलामा दुई हजार जनाले भ्रमण गर्ने र दुई सय जनाले रोजगार पाउने लक्ष लिएको बताइएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोड नगरपालिकाले मेला आयोजना गरेको हो । आफूलाई आवश्यक परेको सीपयुक्त मानिस नभेटिने तर बेरोजगारको संख्या जताततै भेटिने गरेको अवस्थामा रोजगार मेलाले ती दुवै पक्षलाई कनेक्टिभिटीको काम गर्न सक्ने बताइएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मेला जीवनयापनसँग सम्बन्धित रहेको बताउँदै मेलामार्फत आफ्ना क्षमता अनुसारको रोजगारी पाउन सकिने बताए । उनले त्यो कनेक्टिभिटीको वातावरण अरु बेला पनि नगरपालिकाले बनाउने कुरामा जोड दिए ।
उपयुक्त प्ल्याटफर्म नहुँदा रोजगारी खोज्ने र दिनेले उपयुक्त रोजगारी र कामदार नपाउने अवस्था रहेको वर्तमान अवस्थामा रोजगार मेला फलदायी हुने बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले बताए ।
शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रेस संयोजक रमेश तिवारीले गरेका थिए ।


