
काठमाडौँ । संस्थापन र इतरपक्षबीच आरोप प्रत्यारोपका कारण कांग्रेसमा एकता प्रयास संकटतर्फ धकेलिएको छ । जेठ मसान्तभित्र एकता गराउन इतरपक्षले दिएको ‘अल्टिमेटम’ सकिनै लाग्दा सभापति गगन थापा र इतरपक्षका नेता पूर्णबहादुर खड्काबीच नै अविश्वास बढेको छ ।
जेठ मसान्तभित्र एकता नभए वैकल्पिक पार्टी बनाउने योजना इतरपक्षीय नेताहरूले अघि सारेका छन् । चार प्रदेशमा भेला गरिसकेको इतरपक्षले आगामी शनिबार मधेश र आइतबार कोशी प्रदेशमा भेला गर्दै छ । लुम्बिनीमा मिति तय भएको छैन ।
सातै प्रदेशमा सकिएपछि राजधानीमा राष्ट्रिय भेला राखेर ‘वैकल्पिक’ बाटो तय गरिने इतरपक्षीय नेताहरूको भनाइ छ । नेता बिमलेन्द्र निधिका अनुसार इतरपक्षमा जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने समझदारी छ ।
एकता प्रयासमा सभापति थापा नै गम्भीर नभएको गुनासो पूर्वकार्यवाहक सभापति खड्काको छ । उनले २२ वैशाखपछि सभापति थापासँग कुनै पनि माध्यमबाट आफ्नो सम्पर्क हुन नसकेको बताएका छन् ।
सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै खड्काले ३१ दिनदेखि सभापति थापासँग सम्पर्क हुन नसकेको र पार्टी एकतामा कुनै प्रगति नभएको उल्लेख गरेका थिए ।
उपसभापति विश्वप्रकाश शर्माले खड्काको भनाइबाट आफू ‘अचम्मित’ भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टी एकताकै लागि आफ्नै मोबाइलबाट १६ जेठमा ७ बुँदाको प्रस्ताव खड्कालाई पठाइएको पनि जानकारी दिएका छन् । ७ बुँदे प्रस्ताव सभापति थापासँगै बसेर तयार पारिएको थियो ।
७ बुँदे प्रस्तावको जवाफ एक सातासम्म नआएपछि थापासँगको परामर्शमा २२ जेठमा गल्फुटारस्थित निवासमै पुगेर आफूले खड्कालाई भेटेको शर्माको भनाइ छ । उनका अनुसार साढे दुई घण्टा संवाद भएको शर्माले जानकारी दिए ।
त्यस बीचमा ‘ह्वाट्सएप’ मा पठाइएको ७ बुँदा र खड्काले राखेका थप केही विषयमाथि छलफल भएपछि शर्मा निस्किएका थिए । आआफ्नो समूहमा थप छलफल गरेर दुई दिनपछि पुनः बस्ने गरी त्यस दिनको बैठक टुंगिएको थियो ।
खड्काले सहमतिका लागि तयार पारिएको सात बुँदा अहिल्यै खुलाउन नमिल्ने बताए । एक नेताका अनुसार त्यसमा केन्द्रीय कार्यसमितिमा मनोनयन संख्या, महाधिवेशन तयारी समिति, क्रियाशील सदस्यता अद्यावधिकदेखि सदस्यता छानबिन, निर्वाचन, अनुशासन समितिमा सहभागितालगायतका विषय समावेश छन् ।
खड्कासँगको बैठकपछि उपसभापति शर्माले २४ जेठमा सभापति थापासँग छलफल गरेका थिए, जसअनुसार यसै साता सहमति जुटाउने पहलकदमी भइरहेको थियो । खड्काले पनि आफ्नो समूहका नेताहरूसँग संवाद गरेका थिए ।
उनी निकटस्थ केही नेताहरूका अनुसार सिंगापुरमा रहेका पूर्वसभापति शेरबहादुर देउवालाई समेत यसबारेमा जानकारी गराइएको थियो । इतरपक्षले देउवासँगकै परामर्शमा एकताको मोडल अघि सार्दै आएको थियो ।
सभापति थापासँग भने खड्काको पछिल्लो भेट २२ वैशाखमा भएको थियो । खड्कालाई भेटेकै दिन थापाले अर्का नेता शेखर कोइरालालाई पनि भेटेका थिए । पार्टी एकताको पक्षमा आफूले गरिरहेको पहलकदमी पनि थापाकै सल्लाहबमोजिम भइरहेको उपसभापति शर्माको भनाइ छ ।


