
झापा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतको आधारमा पार्टीले उम्मेद्वार चयन गर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा आज आयोजित जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ र नगरका पदाधिकारीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री संग्रौलाले यस्तो धारणा राख्नुभएको हो ।
पार्टीको महाधिवेशन पूर्व निर्धारित समयमै गर्नका लागि जरा अभियान अन्तरगत क्रियाशिल सदस्यको अध्यावधिक कार्य जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले अभियान पूर्ण सफल पार्न सबै तहगत संगठनलाई सक्रिय भएर लाग्न आह्वान गर्नुभयो ।
‘जरा अभियान पार्टीको नवीन यात्रा हो’ नेतृ संग्रौलाले भन्नुभयो– ‘जेठ २० गते एकैदिनमा ६२ हजार बढीले क्रियाशिल नवीकरण गर्नुले पार्टी नयाँ विश्वासको जगबाट अघि बढेको स्पष्ट हुन्छ ।’
पार्टीले ल्याएका नीति तथा कार्यक्रमबारे कार्यकर्तालाइ जानकारी दिँदै सुझाव संकलन एवं क्रियाशिल सदस्यको रेकर्ड ब्यवस्थित गर्न डिजिटल प्रविधि अपनाइएको उहाँको भनाई थियो ।
युवा पिढीलाई पार्टीप्रति आकर्षित गर्न अनलाइन सदस्यता खुलाइएको जानकारी दिँदै उहाँले प्राप्त आवेदनका बारेमा टुङ्गो लगाउने अधिकार वडा र क्षेत्रलाई रहेको तथा विवाद आएमा मात्रै केन्द्रले छानविन गरेर सदस्यता प्रदान गर्ने स्पष्ट पार्नुभयो । पार्टीभित्र १८–३३ वर्षका युवालाई सदस्यता वितरण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस जरा अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले प्राविधिक रुपमा कृयाशिल सदस्यता रेकर्ड र पार्टीको नीति तथा कार्यक्रम, समसामयिक विषयका विचार प्रचार–प्रसारलाइ ब्यवस्थित गर्न जरा अभियान शुरु गरिएको बताउँदै अभियानलाई छिटोछरितो सम्पन्न गर्न आग्रह गर्नुभयो ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेले जरा अभियान अन्तरगत क्रियाशिल सदस्यता अध्यावधिक गर्ने कार्य झापाका १३१ वटै वडामा जारी रहेको बताउँदै केही वडामा प्राविधिक रुपमा दक्ष जनशक्ति नहुँदा केही समस्या देखिएको धारणा राख्नुभयो ।


