
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३२ अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको संरक्षणसम्बन्धी विस्तृत विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले वैशाख ३० गते गरेको निर्णयअनुसार अस्पताल तथा प्रतिष्ठानहरूको स्वामित्वमा रहेका जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि आवश्यक कार्य तत्काल सम्पन्न गरी जानकारी गराउन निर्देशन दिएको थियो। तर हालसम्म विवरण प्राप्त नभएकाले पुनः तीन दिनको समयसीमा तोकिएको मन्त्रालयले जनाएको छ।
निर्देशनअनुसार तोकिएको अवधिमा अतिक्रमण हटाउन अटेर गरेमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोसी अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा अस्पताललगायत ३२ अस्पताल तथा स्वास्थ्यसम्बद्ध प्रतिष्ठानलाई निर्देशन दिएको छ ।



