२०८३ जेठ १० आइतवार , ०८:५२:४३ बजे

Sajhamanch
'

सचिवालय बैठकमा आलोचित ओलीले आज जवाफ दिने

आइतवार, जेठ १०, २०८३

 काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बिहान साढे ११ बजे बस्ने छ ।

बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत ओलीको समर्थन नगरी धारणा राखेको स्रोतले बतायो । महासचिव पोखरेलले घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए ।शनिबार महासचिव पोखरेलसहित, उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए । शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिएका थिए ।

उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा उभिएका छन् ।आज सचिव शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन् ।हालसम्म धारणा राखेका धेरैजसोले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई इन्कार गरेको स्रोत बताउँछ । आज सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने कार्यक्रम छ ।

सम्बन्धित खबर