२०८२ फागुन २८ बिहिवार , ०६:४४:१० बजे

Sajhamanch
'

कोशीका २८ क्षेत्रमा युवा लहर : ४० वर्ष मुनिका १० जनाको संसद् यात्रा

बिहिवार, फागुन २८, २०८२

विराटनगर । प्रतिनिधि सभा अन्तर्गत कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रबाट निर्वाचित संसदको लिष्टमा युवाहरूको वर्चस्व र नयाँ दलको बलियो उपस्थिति देखिएको छ ।

कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त परिणामलाई हेर्दा यस पटक मतदाताले युवाहरूलाई नै प्राथमिकतामा राखेको देखिएको छ । कोशीमा ४० वर्ष मुनिका १० जना युवा उम्मेदवारले संसदको यात्रा तय गरेका छन् ।

झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी २९ वर्षीय निशा डाँगी निर्वाचित भइन् । उनले नेपाली कांग्रेसका अनुभवी नेता केशवराज पाण्डेलाई पराजित गर्दै प्रदेशबाटै अरुभन्दा कान्छो उमेरमा प्रत्यक्ष निर्वाचित हुने अवसर प्राप्त गरिन् ।

डाँगीसँगै खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई पनि २९ वर्षकै उमेरमा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का देवविक्रम राईलाई पराजित गरेर युवाहरूको प्रतिनिधित्वलाई मजबुत बनाएका छन् ।

यी दुई प्रतिनिधि यस पटकको निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित हुने सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन् ।

हेभीवेट मानिने नेताहरूलाई पराजित गर्ने युवाहरूको सूची पनि निकै लामो छ । मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी ३१ वर्षीय रुविना आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरिन् ।

त्यस्तै, झापा–५ मा रास्वपाकै ३६ वर्षीय बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर राजनीतिक वृत्तमा हलचल पैदा गरिदिए । झापा–३ मा ३७ वर्षीय प्रकाश पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गरे ।

यी नतिजाले पुराना र स्थापित नेतृत्वमाथि युवा पुस्ताको सिधा चुनौती रहेको पुष्टि गर्दछ । मोरङका अन्य क्षेत्रमा पनि युवाहरूकै बाहुल्यता देखियो ।

मोरङ–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ३४ वर्षीय सन्तोष राजवंशीले कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे ।

इलाम–१ मा नेपाली कांग्रेसका ३५ वर्षीय निश्कल राईले श्रम संस्कृति पार्टीका ३७ वर्षीय विनोद नेम्वाङ लिम्बूलाई हराउँदै संसदको यात्रा तय गरे । इलाम–२ मा नेकपा एमालेका ३६ वर्षीय सुहाङ नेम्वाङले कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे ।

ताप्लेजुङबाट एमालेका ३८ वर्षीय क्षितिज थेवेले कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बूलाई पराजित गरे भने सुनसरी–२ मा ३९ वर्षीय लालविक्रम थापाले कांग्रेसका राजीव कोइरालालाई पराजित गरे ।

निर्वाचनमार्फत कोशीबाट ४० देखि ५० वर्षको उमेर समूहकाको पनि प्रतिनिधि सभामा उल्लेख्य प्रतिनिधित्व भएको छ । मोरङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ४० वर्षीय कृष्णकुमार कार्कीले एमालेका दिलिपकुमार अग्रवाललाई पराजित गरे भने मोरङ–३ मा सोही पार्टीका ४० वर्षीय गणेश कार्कीले कांग्रेसका सुनिलकुमार शर्मालाई हराए । उदयपुर–१ मा ४० वर्षीय पारशमणि गेलालले श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई पराजित गरे ।

मोरङ–१ मा ४१ वर्षीय यज्ञमणि न्यौपाने र उदयपुर–२ मा ४१ वर्षीय सूर्यबहादुर तामाङले क्रमशः शान्ति पाख्रिन लामा र अम्बरबहादुर रायमाझीलाई पराजित गर्दै विजयको झण्डा गाडे । मोरङ–५ मा ४२ वर्षीय आशा झाले कांग्रेसका फुलकुमार लालवानीलाई र सुनसरी–३ मा ४२ वर्षीय अशोक चौधरीले कांग्रेसका पाका नेता विजयकुमार गच्छदारलाई पराजित गरे ।

श्रम संस्कृति पार्टीका तर्फबाट सुनसरी–१ मा ४३ वर्षीय हर्कराज राईले रास्वपाकी गोमा तामाङलाई र भोजपुरमा ४३ वर्षीय ध्रुवराज राईले एमालेका शेरधन राईलाई पराजित गरे । तेह्रथुममा कांग्रेसका ४८ वर्षीय सन्तोष सुब्बाले एमालेका भानुभक्त ढकाललाई हराए । त्यस्तै सुनसरी–४ मा ४९ वर्षीय दीपककुमार साह र झापा–४ मा ५० वर्षीय शम्भुप्रसाद ढकालले पनि जित हासिल गरे ।

निर्वाचनमा कोशीबाट प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेरमा विजयी हुने प्रतिनिधिहरूमा संखुवासभाका ६२ वर्षीय अर्जुनकुमार कार्की र सोलुखुम्बुका ६२ वर्षीय प्रकाश सिंह कार्की छन् । एमालेका अर्जुनकुमारले रास्वपाका मिङमा शेर्पालाई र कांग्रेसका प्रकाश सिंहले नेकपाका अशिम राईलाई पराजित गरेका हुन् ।

५० वर्ष माथिको उमेर समूहमा पाँचथरबाट ५३ वर्षीय नरेन्द्रकुमार केरुङ, झापा–२ बाट ५५ वर्षीय इन्दिरा राना मगर, धनकुटाबाट ५९ वर्षीय राजेन्द्रकुमार राई र ओखलढुंगाबाट ५९ वर्षीय विश्वराज पोखरेल निर्वाचित भएका छन् ।

सम्बन्धित खबर