
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन्।बिहान पौने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसमाने हुनेछन् भने दिउँसो ४ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।लिग चरण सकिन लाग्दा प्रतिस्पर्धासमेत रोचक बन्दै गएको छ। सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाउँदा बाँकी ७ टोलीको सम्भावना कायमै छ।
शीर्ष ४ मा आउन तीव्र प्रतिस्पर्धा भइरहँदा अबका खेल निर्णायक बन्नेछन्। जनकपुरलाई हराउँदै चितवन प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। ४ खेलबाट ४ अंक जोडेको चितवनलाई प्लेअफको बाटो सहज बनाउन जितको आवश्यकता छ। यता ४ खेलसम्म अंकविहीन जनकपुरलाई प्रतियोगितामा टिक्न जितको विकल्प छैन। चितवनविरुद्धको हारले साबिक विजेतालाई घर फर्काउने छ।चितवन र जनकपुरबीच गत संस्करण लिग चरणमा भेट भएको थियो। जहाँ चितवनले ३२ रनले जितेको थियो।
आजै हुने दोस्रो खेलमा कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। समान २ अंक जोडे रहेका यी टीली मध्ये पोखराले १ खेल कम ४ खेल खेलेको छ। प्लेअफको दौडमा रहेका यी दुईबीचको नतिजामा भर पर्छ। पोखरासँग हारेमा कर्णाली ६ खेलमा २ अंकसहित प्लेअफको दौडबाट बाहिरिनेछ। यस्तोमा अन्तिम खेल जितेपनि ४ अंकमात्र बन्ने हुँदा प्लेअफका लागि त्यो पर्याप्त हुँदैन।४ खेलमात्र खेलेको पोखरालाई भने जितले प्लेअफको सम्भावना जिवित राख्नेछ। गत संस्करण लिग चरणमा भएको भेटमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको थियो।
१९ औं खेल सकिँदा सुदूरपश्चिम ५ खेलमा अपराजित रहँदै १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। १ खेल बढी खेलेको काठमाण्डु गोर्खाज् ४ जित र २ हारको नतिजा निकाल्दै ८ अंक सहित दोस्रो स्थानमा रहँदा ५ खेलबाट समान अंक जोडेको विराटनगर किङ्स तेस्रो र ४ खेलमा २ जित र २ हारसहित ४ अंक सहित चितवन राइनोज चौंथो स्थानमा छ।


