
शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेवस्थित श्री बालसेवा आधारभूत विद्यालयले शुक्रबार आफ्नो ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले वार्षिकोत्सव उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले विद्यालयका भौतिक पूर्वाधारहरु शिवसताक्षी नगरका निजी विद्यालयहरु भन्दा स्मार्ट र गुणस्तरीय बनाउने काम भइरहेको बताए । बालसेवा शिवसताक्षी नगरको सफलतातर्फ अघि बढिरहेको विद्यालय हो भन्दै उनले सो विद्यालयले संस्थागत विद्यालयहरुले दिएको शिक्षाभन्दा राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पनि बताए ।
नगरका धेरै विद्यालयहरुले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेका छन् । यसको अर्थ अब सामुदायिक विद्यालयहरु पनि अब्बल बन्दै गएका छन् । नगरपालिकाले स्मार्ट विद्यालयको अवधारणा ल्याएर विद्यालयहरुको चौतर्फी विकासका कामहरु बर्सेनी गर्दै आएको नगरप्रमुख थोप्राले जानकारी गराएका थिए ।
विद्यालयले वार्षिकोत्सवकै अवसरमा विद्यालयले सञ्चालन गरेको स्कुल बस खरिद अभियानमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । सहयोग दाताहरुमा निर्मला बास्कोटा तथा युवराज ढुंगानाले १ लाख १५ हजार १११, जितेन्द्रराज चेम्जोङ्ग एवम् सरस्वती तुम्बापोले १ लाख ११ हजार १११, ममता लिम्बू चेम्जोङ्गले ३४ हजार ७३० रुपैया सहयोग प्रदान गरेका थिए ।
बस खरिदका लागि सहयोग गरेर विद्यार्थीहरुको भविष्य उज्जवल पार्ने कार्यमा योगदान दिनु भएकोल १८ जनालाई दाताहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिए ।
विद्यालयमा स्थापना गरिएका स्व. धनवर्ण हंसमाया आङ्गदेम्बे चेम्जोङ्ग स्मृति छात्रबृत्ति अक्षयकोष, स्व. सजना सेर्मा स्मृति छात्रबृत्ति अक्षयकोष, स्व अम्बर सेर्मा स्मृति छात्रबृत्ति अक्षयकोष, स्व. धनकुमार रनमाया सेर्मा स्मृति छात्रबृत्ति अक्षयकोष, स्व. ताराप्रसाद (गौरीमान) कार्की स्मृति अक्षयकोष र स्व. सकिला राई स्मृति छात्रबृत्ति अक्षयकोष मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरियो ।
त्यस्तै स्वेच्छिक अवकास लिएका शिक्षक बमबहादुर बुढाथोकी, शिक्षक नविन लामिछाने, मुकेशकुमार यादवलाई पनि सम्मानसहित विदाई गरिएको थियो । वर्षभर विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत मेडल तथा प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको छ ।
सो कार्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकाल, नेपाल शिक्षक महासंघ शिवसताक्षीका सचिव हेतिराज निरौला, भानु माविका प्रधानाध्यापक डामकुमार कुँवर लगायतले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष खत्रीले गरेका थिए ।